समाचार
दुर्गा प्रसाईंको आदेश विरुद्ध महान्याधिवक्ता कार्यालयले पुनरावेदन गर्ने

काठमाडौं, साउन २०-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । तत्काल प्राप्त प्रमाणबाट प्रसाईं दोषी नदेखिने भनी उच्च अदालतले दिएको आदेश त्रुटिपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको तयारी गरेको हो ।
“तत्काल प्राप्त प्रमाणबाट दोषी देखिने भएमा जन्मकैद वा तीस वर्षभन्दा बढी सजाय हुने मुद्दामा अभियुक्तलाई थुनामा पठाउनुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार अभियुक्तलाई छोड्न मिल्दैन,” महान्यायाधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले भने, “दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण देखिएको हुँदा महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरिसकेको छ ।”

























