देश/प्रदेश

विपद् व्यवस्थापनमा सक्रियता बढाउँदै सशस्त्र प्रहरी बल

Banner

रौतहट,साउन १९ –

जिल्लास्थित सीमा क्षेत्रमा हुने अनियमित एवं गैरकानुनी गतिविधि रोक्न, विपद्जन्य घटनामा उद्धारसहित राहत वितरण गर्न र सवारी साधन दुर्घटनामा परेकाको उद्धार गर्न सशस्त्र प्रहरी बल सक्रियरुपमा परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले पछिल्लो साढे पाँच महिनाको अवधिमा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोकेको र विपद्जन्य घटनामा उद्धार तथा राहत वितरणमा सक्रिय भएको जानकारुी दिनुभयो । जिल्लाका विभिन्न ४० स्थानमा भएका आगजनीका घटनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

‘‘सशस्त्र प्रहरीले विपद्सँग जुध्ने खालका गतिविधिमा सक्रियतापूर्वक काम गर्दै आइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘साढे पाँच महिनाको अवधिमा खोलाले बगाएर हराइरहेका आठ जनाको शव फेला पारेर सम्बन्धितका आफन्तलाई बुझाएका छौँ ।’’

प्रमुख बस्नेतले पछिल्लो समय जिल्लाको विपद्मा पाँच सय ८० जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेर विपद् व्यवस्थापन कार्यमा सक्रियता देखाउँदै आएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले शनिबार चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेका एक भारतीय युवाको शव आफन्तलाई जिम्मा लगाएको छ । मादकपदार्थ सेवन गरी सो नदीमा हराइरहेका बिहार खगडियाग्राम पछौरा–२ का ३० वर्षीय रोहितकुमार सिंहको शव निजको आफन्तलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बल जिल्ला प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै सशस्त्र प्रहरीले गत साउन ९ गते बागमती नदीमा बेपत्ता भएका बिहार मुतहीका पवनकुमार साह र घुरघुराका नीतिसकुमार राउतको शव फेला पारी आफन्तलाई जिम्मा लगाएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच रौतहटको ईशनाथ नगरपालिकाका किसान शेख जाफिरको विद्युतीय करेन्ट लागेर निधन भएका छ । ईशनाथ वडा नं. ८ का मन्सरी टोलका जाफिरको धानखेतमा पानी लगाउन प्रयोग भएको विद्युतीय मोटरबाट करेन्ट लागी गम्भीर घाइते हुनुभएका जाफिरको उपचारका क्रममा प्रदेश अस्पताल गौरमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>