अन्तर्राष्ट्रिय

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

Banner

काठमाडौँ, साउन १९ –

नेपाल पत्रकार महासङ्घ युकेले १४ औँ वार्षिकोत्सव मनाएको छ ।

बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रमको आइतबार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष विमला सेनेले संयुक्त उद्घाटन गर्नुभएको जनाइएको छ ।

सो अवसरमा शाखाले यसै वर्षदेखि सुरु गरेको वर्ष पत्रकारिता सम्मान २०२५ बिबिसी नेपाली सेवाका पूर्वप्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरेको छ । पत्रकार नेपालीलाई २५१ पाउण्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियोे ।

पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तित्व नेपालीको पत्रकारितामा पाँच दशक लामो योगदानबारे जानकारी दिनुभयो ।

नेपाल महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेसामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष शर्माले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सीप नेपालमा लैजान सुझाव दिनुभयो ।

उहाँले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको अनुभव सुनाउनुभयो । अध्यक्ष शर्माले पत्रकार वा पत्रकारिता विभाजित भए त्यसबाट सत्यतथ्य र विश्वसनीयतामा आँच आउने औँल्याउँदै शर्माले जवाफदेही भएर समुदायका मुद्दा उजागर गर्न आग्रह गर्नुभयो ।

बेलायत शाखाको विवादतर्फ इङ्गित गर्दै अध्यक्ष शर्माले केन्द्रले हस्तक्षेपभन्दा स्वतन्त्र रुपमा समाधान गर्न सहजीकरण गर्ने प्रष्ट पार्दै नेतृत्वमा जाने चाहनेले समर्पण गर्नुपर्ने र व्यावसायिक पत्रकारिता जोगाउन सबैमा आग्रह गर्नुभयो ।

“अहिले नेपालको पत्रकारितामा आर्थिकमन्दीले समयमा तलब नपाउनु, मिडिया बन्द हुने क्रम जारी, प्रेस स्वतन्त्रता हननजस्ता कयौँ चुनौती सामना गर्नु परिरहेको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “जस्तो परिस्थितिमा पनि जवाफदेही पत्रकारिता गर्नु पत्रकारहरुको दायित्व भएको हो ”

राजदूत घिमिरेले यहाँका पत्रकारलाई आगामी दिनमा ब्रिटिस मेन स्ट्रिम मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्ने र पत्रकारिता क्षेत्रमार्फत नेपाल–बेलायत सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको बताउनुभयो । उहाँले राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै राजदूत घिमिरेले फुटेरभन्दा जुटेर शक्ति बढाउने काम गर्न आग्रह गर्नुभयो ।

शाखा अध्यक्ष विमला सेनेले अग्रजहरुको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउदा बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।

सो अवसरमा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिँदै शाखाको १४ वर्ष यताका गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियोे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>