अन्तर्राष्ट्रिय
जब जहाजमा सँगै बसेका यात्रुले थप्पड हाने (भिडियो)

भारत, साउन १७-
डानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्।
थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सिट छाडेर बाहिर निस्केका हुसैनलाई अन्यले सम्हाल्ने कोसिस गरिरहँदा सँगैको बसेका एक पुरूषले भने उनलाई थप्पड हानेका थिए। ती व्यक्तिले थप्पड हानेको भिडिओ जहाजमै भएका अरू मानिसहरूले खिचेर सार्वजनिक गरेका थिए।
थप्पड हानेका व्यक्तिलाई क्याबिन क्रू का सदस्य र यात्रुहरूले गाली गर्दै किन हानेको भनेर सोधेका थिए। ‘यो मान्छेले गर्दा हामीलाई समस्या भयो, ‘जबाफमा ती व्यक्तिले भनेका थिए।
जहाज उड्न थालेपछि हुसैन आँत्तिएका थिए। उनलाई प्यानिक अट्याक आएको बिबिसीले जनाएको छ। त्यसपछि उनी अकास्मात सिटबाट उठेका थिए। उनी त्यहाँबाट आफूलाई बाहिर जान दिन अनुरोध गर्दै सिट छाडेर बाहिरिन खोजेका थिए। त्यसपछि वरपरका सिटमा रहेका यात्रु र जहाजको क्याबिन क्रूका सदस्यहरूले हुसैनलाई सम्हाल्ने प्रयत्न गरेका थिए।

























