समाचार
अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्छुः संयोजक ललित मल्ल

क्यानबेरा, साउन १३-
हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा क्यापिटल टेरिटोरी संयोजक पदमा विजयी भएका ललित मल्लले निर्वाचनलाई लोकतान्त्रिक प्रक्रिया भएको भन्दै अब समुदायलाई एकतामा बाँधेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मतदाताहरू, समर्थकहरू तथा क्यानबेराबासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दै मल्लले निर्वाचन पारदर्शी, निष्पक्ष र लोकतान्त्रिक अभ्यासको अभिन्न अङ्ग भएको उल्लेख गरे। उनले यस प्रक्रियाले कार्यकारी टिम चयन गर्न सहयोग पुर्याएको र यसले समुदायमा लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
मल्लले क्यानबेराबाट ४४ जना समर्पित उम्मेदवारले सहभागिता जनाएको स्मरण गराउँदै, उम्मेदवारी दिने सबै समुदायको लागि समर्पित सेवक र वास्तविक विजेता रहेको बताए।
निर्वाचनको नतिजालाई ‘अंकको एउटा औपचारिकता’ भन्दै उनले यो अंकले आफू र आफ्नो टिमलाई जिम्मेवारी सुम्पिएको उल्लेख गरे। यद्यपि, हरेक उम्मेदवारको साझा दायित्व नेपाली समुदायको समुन्नतिका लागि काम गर्नु नै भएको मल्लको भनाइ थियो।
मल्लले निर्वाचनको परिणाम जेसुकै भए पनि सम्पूर्ण उम्मेदवारहरूसँग मिलेर समुदायको सेवा र विकासका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अभियानमा सक्रिय रहेका एसिटीका कोअर्डिनेटरका उम्मेदवारद्वय अविषेक उप्रेती र विनोद उप्रेतीलाई विशेष धन्यवाद दिँदै, उनले भविष्यमा पनि समुदायको हितका लागि सधैं एकतामा अघि बढ्ने विश्वास व्यक्त गरे।

























