धार्मिक/सांस्कृतिक

पश्चिम तराईमा धुमधामका साथ ‘गुरही’ पर्व मनाइँदै

Banner

कैलाली, साउन १३ –

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले पनि धुमधामसँग मनाउँदै छन् ।

खेतीपाती सकिएपछि धानबालीमा किरा नलागोस् भनेर गुरहीको प्रतिकका रूपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुरीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) चलन रही आएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भइ सप्रिने विश्वास रहिआएको छ ।” गुरही सेलाउने काम सकिए पश्चात गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा प्रसादको रूपमा एकापसमा बाँडीचुँडी खाने र नाचगान गरी रमाइलो गर्ने चलन छ ।

थारु सामुदायको सांस्कृतिक विविधतालाई संरक्षण सम्बद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको सखि सञ्जाल कैलालीका संयोजक कालीमैया (उन्नती)चौधरीले बताउनुभयो ।

“गुरही एक प्रकारको किराको नाम हो, यसलाई नेपाली भाषामा ‘गाईनेकिरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दुषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस किराले वातावरण सरसफाइमा टेवा पुरÞ्याएको हुन्छ”, उहाँले भन्नुभयो, “यसै गुरहीको प्रतिकका रूपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुरीया बनाइ गाउँको चोकमा सेलाउने ९असरैना० गर्दछन् । पुरुषले सेलाएको गुरीयालाई लठ्ठी आकारको सोताले पिट्ने तथा गाउँभरीको रोग र नराम्रो कुरा लैजा भन्दै जोरले चिच्याउने चलन छ ।”

यसलाई बालबालिकासँग सम्बन्धित पर्वको रूपमा पनि लिने गरिन्छ । गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ ।

यस पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुको साथै गाँउमा भएको दुःख, सङ्कट र विपत्ति भाग्ने बताइन्छ । परापूर्वकालदेखि यो पर्व थारु समुदायले नागपञ्चमीको दिनमा मनाउँदै आएकाले योसँगै अन्य पर्वको सुरुआत हुने गरेको छ ।

यो पर्व मनाउन सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, थारु लेखक सङ्घलगायतको संयुक्त आयोजनामा धनगढीको क्याम्पस चोकमा आज कार्यक्रम आयोजना गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>