समाचार
तराईमा खडेरीःमधेस र कोसी प्रदेशमा धान रोपाइँ न्यून

काठमाडौं, साउन ११-
तराई क्षेत्रमा पानी नपरेपछि धान रोपाइँमा प्रभाव परेको छ । अन्य प्रदेशमा गत वर्षकै हाराहारी रोपाइँ हुँदा यो वर्ष मधेस र कोसी प्रदेशमा धान रोपाइँ न्यून देखिएको छ ।
साउन ११ गतेसम्म मधेस प्रदेशमा ५१ दशमलव ८२ प्रतिशत र कोसी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको साउन १३ गतेसम्म मधेस प्रदेशमा ९२ प्रतिशत र कोसी प्रदेशमा ९दशमलव७ प्रतिशत धान रोपाइँ भएको थियो ।
कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, यो प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुन्छ । तर, साउन ११ गतेसम्म मधेसमा एक लाख ९३ हजार ११६ हेक्टर जमिनमा रोपाइँ भएको छ । कोसी प्रदेशमा दुई लाख ७६ हजार ३८६ हेक्टरमा धान रोपाइँ हुन्छ । तर, साउन ११ गतेसम्म दुई लाख २२ हजार १९२ हेक्टरमा धान रोपाइँ भएको छ ।
सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा ९८ दशमलव ९४ प्रतिशत भएको छ । यो प्रदेशमा गत वर्षको साउन १३ गतेसम्म ९९ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमा धान रोपाइँ हुन्छ । साउन ११ गतेसम्म सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार २८६ हेक्टरमा धान रोपाइँ सकिएको छ ।
देशभर कुल १३ लाख ७८ हजार ९६६ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । साउन ११ गतेसम्म सात वटै प्रदेशमा कुल १० लाख ८७ हजार १४८ हेक्टरमा रोपाइँ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, कोसी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत, वाग्मती प्रदेशमा ८७ दशमलव १९ प्रतिशत, गण्डकीमा ८४ दशमलव ५३ प्रतिशत, लुम्बिनीमा ९२।०४ प्रतिशत र कर्णाली प्रदेशमा ९१।३८ प्रतिशत धान रोपाइँ सकिएको छ ।
गत वर्षको साउन १३ गतेसम्म कुल ९२ दशमलव ६ प्रतिशत धान रोपाइँ भएकोमा यो वर्षको साउन ११ गतेसमम ७८ दशमलव ८४ प्रतिशत मात्र भएको छ ।

























