देश/प्रदेश
मोटरसाइकलमा डोको जोडेर गाउँगाउँ र बजारमा तरकारी बेच्ने ‘धनराज’

तुलसीपुर (दाङ),साउन –
रा ३ प १२४४ नम्बरको मोटरसाइकल । त्यही मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्नुहुन्छ ।
आफैँले गरेको तरकारी खेतीबाट उत्पादन भएको तरकारी मोटरसाइकल पछाडि जोडिएको डोकोमा बोकेर बेच्नुहुन्छ । विगत १० वर्षदेखि यसरी नै आफूले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “मैले १० वर्ष भयो तरकारी खेती गरेको”, उहाँले भन्नुभयो, “यही तरकारी मोटरसाइकलको पडाडी जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै मलाई छोराछोरी पढाउन पुगेको छ ।”
बिहान ५ बजे उठेर उहाँले अहिले उत्पादन भएका काक्रा र बोडी गाउँगाउँमा लिएर बेच्नुहुन्छ । मोटरसाइकलमा राखेर खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरलगायतमा लगेर बेच्नुहुन्छ ।
त्यसपछि १० बजेतिर घरमा आएर खान खानुहुन्छ, अनि उहाँले तुलसीपुर बजारमा लिएर तरकारी बेच्नुहुन्छ । अहिले उहाँको दैनिकी यसरी नै बितिरहेको छ । यसवर्ष दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “विगतका वर्षमा दैनिक सात÷आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उहाँले भन्नुभयो, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”
उहाँले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आउनुभएको छ, भने काक्रालाई एक सयको ढाइ किलो बिक्री गर्दै आउनुभएको छ । बोडी र काक्राको सिजन असारदेखि साउन महिनाको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटर खेती गर्ने तयारी गरेको उहाँले बताउनुभयो । वैशाखमा रोपिएका काक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताउनुभयो । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उहाँले बताउनुभयो । १० कठ्ठा जग्गामा उहाँले यसरी तरकारी खेती गर्नुभएको छ । रासस



























