अन्तर्राष्ट्रिय
जलिरहेको अवस्थामा फेला पर्यो सम्पर्कविहीन रुसी विमान

काठमाडौं, साउन ८-
रुसको सुदूर पूर्वमा ४९ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।
‘आङ्गारा एयरलाइन्स’को एएन-२४ (An-24) मोडेलको उक्त विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिण्डा शहरतर्फ जाँदै गर्दा रडारबाट हराएको थियो ।
बेपत्ता पछि खोजी कार्यमा हेलिकोप्टर र ड्रोन प्रयोग गरिएको थियो । रुसको आपत्कालीन मन्त्रालयले रुसी नागरिक उड्डयन हेलिकोप्टरले विमानको जलिरहेको भाग देखेको बीबीसीले जनाएको छ ।
रिपोर्टका अनुसार कोही पनि जीवित नभएको अनुमान गरिएको छ । तास समाचार एजेन्सीकाअनुसार अमुरको नागरिक रक्षा केन्द्रले विमान टिन्डाबाट लगभग १६ किलोमिटर (१० माइल) टाढा पहाडको भेगमा फेला परेको बताएको छ ।
घटनास्थलबाट प्राप्त फुटेजमा विमानको भग्नावशेष घना जंगलमा जलिरहेको देखिएको छ । आपत्कालीन अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण पाइलटको गल्ती वा प्राविधिक खराबीलाई हेरिएको छ ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत् जानकारी दिँदै भने, “पूर्व विवरणअनुसार विमानमा ४३ जना यात्रुहरू थिए, जसमा ५ जना बालबालिका थिए । साथै, ६ जना चालक दलका सदस्यहरू पनि सवार थिए ।”

























