समाचार
धरानका मेयरले अमर्यादित भाषामा जग्गा फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र

विराटनगर, साउन ७-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चर्चेको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।
बुधबार उनले नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र लेखेका हुन् । तर, उनले लेखेको पत्रको भाषा शैली अमर्यादित छ ।
‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ, अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।’
धरान उपमहानगरपालिकाको आफ्नै अस्पताल छैन । यसअघि स्वास्थ्य बीमा बोर्डले बीपी प्रतिष्ठानलाई रेफरल सेन्टर मात्रै तोकेपछि धरानमा अस्पताल निर्माणको बहस चलेको थियो ।


























