समाचार
महिनाथपुर सीमा क्षेत्रमा एसएसबीमाथि आक्रमण

जनकपुरधाम, साउन ७-
नेपाल भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी एसएसबी जवानमाथि आक्रमण भएको छ । भारततर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ ।
त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । सो क्रममा एकजना एसएसबी जवान घाइते भएका छन् । आक्रमण गर्ने एकजनालाई पक्राउ समेत गरेको भारतीत प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार, नेपाल तर्फबाट कच्चीबाटो भएर प्रवेश गरेको ४/५ जना व्यक्तिलाई एसएसी जवानले रोक्न खोज्दा विवाद भएको थियो ।
त्यस क्रममा उनीहरुले एसएसवी जवानमाथि नै आक्रमण गरेर बन्दुक खोस्न खोजेका थिए । त्यस क्रममा आत्मरक्षाका लागि एसएसबीले दुई राउण्ड गोली प्रहार गरेका थिए । सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बोर्डर पारितिर एसएसबी विवादको क्रममा चार राउण्ड गोली प्रहार गरेको बताएका छन् ।
























