तनहुँ
मदिराले लठ्ठ रास्वपा नेताले खुँडा देखाएर आतंक मच्चाउँदा हिरासतमा

दमौली,साउन ६-
धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ। हतियार देखाएर लौडारीले स्थानीयलाई आतंक मच्चाएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुँडा देखाएर मार्छु भनेर आतंक मच्चाएका थिए। उनीहरु राति ढोका लगाएर घरभित्र पसेकोले बाच्न सफल भएका थिए। लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै खुँडाले घरमा झटारो हानेका थिए। स्थानीय गुहार मागेपछि प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए।
लौडारी हाल काठमाडौंमा बस्दै आएका छन्। रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए। लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय भानुले नियन्त्रण लिई हिरासतमा राख्न सफल भएको थियो।
























