देश/प्रदेश

गण्डकीमा नेकपाले गर्यो सामूहिक रोपाइँ

Banner

गण्डकी, साउन ५ –

उत्पादनमा आधारित समाजवादको लक्ष्य लिएको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले गण्डकीका विभिन्न जिल्लामा गरी झन्डै १५ बिगाहामा सामूहिक रोपाइँ गरेका छन् । एकमहिने उत्पादन अभियानअन्तर्गत कास्की, बागलुङ, स्याङ्जा, गोरखा, म्याग्दीलगायतका जिल्लामा सामूहिक रोपाइँ गरिएको नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेकपाले गत असार १० देखि यही साउन १० गतेसम्म अत्यावश्यकबाहेक पार्टीका अन्य कामलाई थाती राखी सबै तहका नेता तथा कार्यकर्ता उत्पादनमा जोडिने निर्णय गरेको थियो । पार्टीको सोही नीतिअनुसार महासचिव नेत्रविक्रम चन्दलगायत देशभरका नेताकार्यकर्ता अहिले रोपाइँमा व्यस्त रहेको प्रदेश इञ्चार्ज भुजेलले बताउनुभयो । उहाँका अनुसार कास्कीको पोखरा महानगरपालिका–१४ छिनेडाँडामा एक बिगाहा क्षेत्रफलमा रैथाने जेठोबुढो धान रोपिएको हो ।

छिनेडाँडामा रहेको परम्परागत घरसहित १४ रोपनी जग्गा भाडामा लिई नेकपाले केही वर्ष अघिदेखि कृषि उत्पादन गर्दै आएको छ । पार्टीको प्रदेश कार्यालय पनि सोही स्थानबाट सञ्चालित रहेको इञ्चार्ज भुजेलले बताउनुभयो । लमजुङ र गोरखा जिल्ला पार्टी कमिटीको संयुक्त पहलमा गोरखाको पालुङटार नगरपालिका–३ स्थित भडारथोक, तल्लोसेरा फाँटको ४५ रोपनी क्षेत्रफलमा रोपाइँ गरिएको इञ्चार्ज भुुजेलले जानकारी दिनुभयो ।

यसैगरी, आइतबार बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरको कमेरेमा रहेको भैरवस्थान गुठीको सात रोपनी खेतमा रोपाइँ गरिएको नेकपाका पोलिटब्यूरो सदस्य एवं बागलुङ जिल्ला इञ्चार्ज आजाद केसीले जानकारी दिनुभयो । “पूजा सञ्चालनका लागि चाहिने धान गुठीलाई दिने र बाँकी आम्दानी पार्टीले लिने गरी रोपाइँ गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्ला तहका नेताकार्यकर्ता गरेर हामी ३५ जना जति रोपाइँमा खटियौँ ।” समृद्धिका लागि उत्पादनमा जोडिने पार्टीको नीतिअनुसार सामूहिक रोपाइँ गरिएको इञ्चार्ज केसीले बताउनुभयो ।

उहाँका अनुसार नेकपाले बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानमा कागती र सुन्तलाखेती तथा ढोरपाटन नगरपालिका–९ मा टिमुर र दाँते ओखरको खेती गरेको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ वटै जिल्लाका नेताकार्यकर्ता कृषि उत्पादनमा जोडिएको सो पार्टीले जनाएको छ । पोखराको छिनेडाँडामा गरिएको आलुखेतीबाट गत हिउँदमा झन्डै रु तीन लाख बराबरको आम्दानी भएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो । अकबरे खुर्सानी पनि बाहिर निर्यात गर्नेगरी उत्पादन भइरहेको कार्यालय सचिव क्षेत्रीको भनाइ छ ।

देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले केही महिनाअघि काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको थियो । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ । गत वर्ष पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पनि उक्त केन्द्रमा बिक्रीका लागि पठाइएको थियो ।

पार्टी महासचिव चन्द आफैँ कृषिकर्ममा जोडिएर नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरेको पोलिटब्यूरो सदस्य केसीले बताउनुभयो । “मुलुको समृद्धिका लागि सामूहिक उत्पादन प्रणालीमा जोडिनुपर्ने पाटीको नीति र सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि हामी व्यावसायिक कृषिकर्ममा जोडिएका हौँ”, उहाँले भन्नुभयो, “भूगोल र मौसमअनुसारको अन्नबाली र तरकारीखेती गरिएको छ ।”

प्रदेश इञ्चार्ज भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको बताउनुभयो । “प्रदेश कार्यालयबाट कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात-आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।”

इञ्चार्ज भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, गोरखा, लमजुङलगायत जिल्लामा नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादनमा जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई आकर्षित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको उहाँको भनाइ छ ।

कृषि उत्पादनको क्षेत्र विस्तार गर्दै जाने र किसानलाई पनि जोड्ने पार्टीको योजना रहेको इञ्चार्ज भुजेलले बताउनुभयो । सामूहिक उत्पादन अभियानले व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्ने र राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिने नेकपाका नेता कार्यकर्ताको विश्वास छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>