देश/प्रदेश

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

Banner

झापा, साउन ४-

मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न कलात्मक सामग्री निर्माणमा जुटेका छन् । बाँसको जरा सङ्कलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन् ।

मेचीनगर-४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा सङ्कलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुका कलात्मक सामग्री निर्माण गरेर बित्ने गरेको छ । गाउँघरमा दाउराका रूपमा प्रयोग हुने बाँसको जराबाट हात्ती, चराचुररुङ्गी र विभिन्न सजावटका आकर्षक सामग्री निर्माण हुने उहाँले बताउनुभयो । तयारी सामग्रीको मूल्य रु एक हजारदेखि निर्धारण गरिएको विष्टले जानकारी दिनुभयो ।

मेचीनगर–४ ले उहाँसहित यस क्षेत्रका ३० जनालाई गत वर्ष हस्तकलासम्बन्धी तीनमहिने तालिम प्रदान गरेपछि अहिले यहाँका महिला बाँसका आकर्षक सामग्री निर्माणमा जुटेका हुन् । महिलाले तयार गरेका सामग्रीको बजारीकरण वडा कार्यालय र जिल्लास्थित डिभिजन वन कार्यालयले गरिदिने वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

“खेर गएको बाँस र जराबाट निर्माण गरिएका सामग्रीको बजारीकरण हामी गरिदिने छौँ”, उहाँले भन्नुभयो, “यहाँका महिला यही पेसामार्फत स्वरोजगार बन्दै आत्मनिर्भर बन्न सक्नुहुन्छ ।” उहाँले दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि निराश बनेकाहरूका लागि हस्तकला निर्माणसम्बन्धी तालिम आम्दानीको स्रोत हुनेसक्ने बताउनुभयो ।

बाँसको जराबाट हात्ती, चराचुरुङ्गी, महिलाले प्रयोग गर्ने गरगहना र घरेलु सामग्री निर्माण गर्न सकिने वडाध्यक्ष कार्कीले उल्लेख गर्नुभयो । उहाँले वडाले गर्ने हरेक कार्यक्रममा अतिथिलाई ‘मायाको चिनो’ स्वरुप महिलाद्वारा निर्मित हस्तकलाका सामग्री खरिद गरेर वितरण गर्न थालिएको जानकारी दिनुभयो ।

महिलालाई हस्तकला विज्ञ निर्मल शाक्य र शेखले तीन महिनासम्म प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक शाक्यले छोटो समयमा महिलाले सीप सिकेर गुणस्तरीय सामग्री निर्माणमा जुटेका ताउनुभयो । उहाँले स्थानीय क्षेत्रमा बाँसको उत्पादन प्रशस्त हुनेहुँदा कच्चा पदार्थको अभाव नहुने बताउँदै स्थानीय सरकारले बजारीकरणमा थप समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>