देश/प्रदेश

फल्याक र धार्काजुङमा जलवायु परिवर्तनको असर

Banner

मुस्ताङ,साउनः४ –

वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ । यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो । यहाँका उर्वरभूमिमा किसानले स्याउ, उवा, फापर, आलु, बोडी, मकै, जौँलगायत हरियो ताजा सागसब्जी उत्पादन गरेर गतिलो आम्दानी गर्दथे ।

तर, यतिबेला यी दुई गाउँका किसानलाई सिँचाइको समस्या भएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा सिँचाइको मुहान विस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षत्र–५ अन्तर्गत धार्काजुङ र फल्याकका किसान चिन्तित देखिएका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपर्दा सिँचाइ मुहान सुक्दै गएकाले यहाँ समस्या भएको बताउनुभयो । बर्सेनि अनुकूल समयमा हिउँ नपरेसम्म यहाँको सिँचाइ समस्या झन्झन् बढ्दै जाने भएकाले किसानका लागि यो चिन्ताको विषय बनेको छ ।

“अकासे वर्षाले सिँचाइको समस्या टर्दैन, पर्याप्त सिँचाइका लागि अनुकूल समय पर्याप्त हिउँ पर्नुपर्ने हुन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “विस्तारै मुहान सुक्दै गएकाले खेतीयोग्य जमिनमा सिँचाइ अभाव देखियो ।”

अध्यक्ष गुरुङले जलवायु परिवर्तनको असरले यहाँको कृषि प्रणालीमा देखिएका चुनौती समाधान गर्न नयाँ सिँचाइका मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताउनुभयो । जलवायु परिवर्तनका कारण यहाँको पानीको स्रोत घट्दै गइरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेकामा अहिले १० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ गर्न धौधौ भइसकेको उहाँले बताउनुभयो ।

वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार, साउन र भदौमा उच्च हुने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको बताउनुभयो । फल्याक र धार्काजुङ गाउँमा एक सय घरपरिवारले कृषि पेसा अगालेका छन् । “जीविकोपार्जनको माध्यम भनेकै कृषि हो, कृषिका लागि सिँचाइ नभई हुँदैन, किसानले खेतीपाती गरेको व्यर्थ हुने भयो”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।

फल्याक र धार्काजुङका किसान, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ । लुम्बुक झरना नजिक तीनवटा मुहानको पानीको स्रोत घट्दै गइरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिनुभयो । उहाँले मुस्ताङमा लगातार तीन वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुईतिहाइले सुक्दै गइरहेको उल्लेख गर्नुभयो ।

लुम्बुक खोलामा आंशिक पानीको स्रोत देखिए पनि त्यहाँको पानी जमिनमुनिबाट बग्न थालेपछि फल्याक र धार्काजुङमा सिँचाइ समस्या देखिएको छ । सिँचाइको स्रोत सुक्दै गए केही वर्षभित्र यहाँको बस्ती विस्थापित हुने जोखिम छ । फल्याक र धार्काजुङ गाउँमा एक किसानले २५–३० वटा खेतमा सिँचाइ गर्ने गरेकामा पछिल्लो समय चार–पाँचवटा खेतमा पनि सिँचाइ उपलब्ध गराउन धौधौ भइरहेको छ । हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठूलो हुने स्थानीय बताउँछन् । मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहीन भएपछि यहाँ सिँचाइको समस्या र चुनौती थपिएको हो ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>