देश/प्रदेश

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

Banner

कर्णाली,साउन २ –

कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिने गरिन्छ साउने सङ्क्रान्ति, जुन दिन राँको बालेर लुतो फाल्ने गरिन्छ । मानव शरीर तथा समाजमा भएका सबैखाले विकृत चिजको विसर्जन गर्ने विम्बका रूपमा लुतो फाल्ने परम्परा मुलतः माथिल्लो कर्णालीका जिल्लाहरूमा विद्यमान छ ।

साउने सङ्क्रान्ति लुतो फाल्ने दिनमात्र नभएर देउडा पर्वका रूपमा पनि कर्णालीमा भव्य रूपमा मनाइने पर्व हो । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा आफ्ना सम्मुखका छिमेकीहरूलाई असभ्य शब्दले गाली गरेर मनाइने अनौठो पर्वलाई पछिल्लो समयमा केही हदसम्म सभ्य ढङ्गले मनाउन थालिएको छ ।

पाँच वर्षयता यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा समेत राँको बाल्ने, साथीसङ्गी मिलेर देउडा खेल्ने, सुखदुःख साटासाट गर्ने र सेवाभावका काम गरेर सम्पन्न गरिँदै आएको छ । बिहीबार जुम्ली एकता सेवा समाजको सहकार्यमा सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित ‘देउडा विशेष कार्यक्रम’मा यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, शिक्षाप्रेमी, बुद्धिजीवी र स्थानीय नागरिकको सहभागिता तथा प्रहरी प्रशासनको समन्वयमा साउने सङ्क्रान्ति सम्पन्न गरिएको छ ।

सामाजिक बेथिति, विकृति र भ्रष्ट कार्य निराकरणको प्रेरकका रूपमा लिइने यस पर्वले सामाजिक सद्भाव, आपसी मेलमिलाप तथा भाइचारा सम्बन्ध कायम गर्दै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो साउने सङ्क्रान्ति पर्व नेपालभरि नै मनाइन्छ । यसमा कण्डारकको लुतो फाल्ने चलन छ । लुतो फाल्नका लागि विभिन्न औषधिमुलो, जडीबुटी, फलफूल र गेडागुडी आदि मिसाएर एउटा उल्का ९राँको० बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन रहिआएको छ ।

आचार्यका अनुसार जुम्लामा यस दिन जुम्लामा धेरै उज्यालो हुन्छ । सर्वत्र हरेक घरमा १२–१५ वटा राँका बालिन्छन् । सारा गाउँ उज्यालो हुन्छ, वारिपारि सब देखिन्छ । यसरी राँको बाल्ने र फाल्ने चलन छ । एउटा वल्लो गाउँकाले पल्लो गाउँकालाई गाली गर्छन्, तर कुनै व्यक्तिको नाम तोकेर होइन । गाउँलेले अर्को गाउँलाई सम्बोधन गर्दै भन्छन्, “ए फलाना गाउँका, लुतो लैजा, पाब्डो ९सडेको चिज० लैजा, हिलाउने, चिलाउने बिझाउने, खाइदे, खर्लप्पै सब लैजा, नातिदेखि धुनिया, भिनाजु यताउती सब लैजा’ भनेर भन्ने, पुकार्ने चलन छ ।” यो एउटा आपसी मनोविनोद, हाँसोठट्टा र खेलठट्टाको कुरा पनि हो ।

सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र यहाँको मौलिक पर्व साउने सङ्क्रान्तिबीच अन्तरसम्बन्ध रहेकाले एकसाथ मनाइएको बताउनुभयो । जुम्ला एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले मौलिक संस्कृति र परम्पराको संरक्षणले हरेक भेग, क्षेत्र र समुदायको पहिचान कायम भइरहने बताउनुभयो ।

देउडा गायिका सुनसरा शाहीले देउडा सुखदुःखका व्यथा ओकल्ने मात्र नभई समाजमा भएका बेथिति, विकृति, विसङ्गति र अनियमितताको आवाज भएको बताउनुभयो । सबै खाले कुराको सङ्गम र मूल स्रोत देउडा भएकाले यसको संरक्षण तथा विकासका लागि राज्यले उच्च प्राथमिकता राखेर काम गर्नुपर्ने उहाँले सुझाउनुभयो । करिब पाँच हजार सर्वसाधारण सम्मिलित रहेको सुर्खेतमा मौलिक देउडा र सांस्कृतिक पर्व साउने सङ्क्रान्ति देउडा खेल्दै लुतो फालेर सम्पन्न गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>