Breaking News

रसुवाबाट बगेका व्यक्तिको शव चितवनमा भेटिएपछि खोजीको दायरा बढाउँदै प्रहरी

Banner

काठमाडौं,असार २५-

प्रहरीले रसुवामा मंगलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारि दिए ।

उनले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गरे । उनका अनुसार, रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ चितवनमा फेला परेको थियो ।

प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशंकामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिए । उनका अनुसार, हालसम्म बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव छन् ।

चारवटा मानव अंगमात्रै फेला परेको बताउँदै उनले ती शवको डीएनए परीक्षण आवश्यक रहेको बताए । प्रवक्ता थापाका अनुसार, अझै दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । “बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ । बाढीका कारण यकिन भइसकेको छैन । तर, मौसमविद्हरूले माथिल्लो क्षेत्रमा रहेको हिम पोखरीहरू फुटेका हुन सक्ने आशंका गरेका छन,” उनले भने ।

बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको जानकारी दिए । उनले ठूलो वर्षा नभएरै बाढी आएकाले यसबारे विस्तृतरूपमा अनुसन्धान भइरहेको बताए । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>