Breaking News

बाढीले मितेरी पुल बगाएपछि टुट्यो नेपाल-चीन सम्पर्क, बाढीमै बगे ईभी गाडी

Banner

काठमाडौं,असार २४-

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि नेपाल-चीन सम्पर्क टुटेको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका सयौँ गाडी पनि बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भन्सार जाँचपासका लागि राखिएका इभी गाडीहरू बगाएको छ ।

पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । बाढीमा फेसकाहरूको उद्धार भइसकेको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले  भने, ड्राइपोर्टमा राखिएका सवारीसाधन सबै बगाएको छ । उनका अनुसार ड्राइपोर्टमा कति संख्यामा गाडी थिए भन्ने खुल्न नसकेको बताए । उद्वारमा खटिएका ११ जना प्रहरीको टोली नै बाढीमा फसेका छन् । उनीहरूको हेलिकोप्टरमार्फत उद्धारका लागि नेपाली सेनालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बाढीले पुर्‍याएको क्षतिको तथ्यांक संकलनको काम पनि भइरहेको उनले बताए । बाढीले स्याफ्रुबेसी जोड्ने सडक र रसुवागढी जलविद्युत्‌ आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेकाले उद्धारका लागि काम भइरहेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवा, धादिङ र नुवाकोटले त्रिशूली नदीको माथिल्लो क्षेत्र नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>