Breaking News

शिक्षाप्रतिको भ्रम र हिमालको विद्रोहः १२ वर्षसम्म के पढेँ मैले ? भन्ने प्रश्नबाट जन्मिएको ‘टेक जिज्ञाशा’

Banner

चितवन, असार २०–

‘पढ्, पढ्, राम्रो नम्बर ल्याइस् भने भविष्य बन्छ !’ के तपाईंले पनि वर्षौँसम्म यही कुरा सुन्दै आउनुभयो ? के तपाईं पनि एसईई वा कक्षा १२ को नतिजा आएपछि वा आउनुअघि ‘अब के गर्ने होला ? भन्ने प्रश्नमा अल्मलिँदै हुनुहुन्छ ? राम्रो ग्रेड त आयो वा आउँछ होला, तर त्यो सर्टिफिकेट बोकेर भोलिको तेज गतिको संसारमा कसरी हिँड्ने भन्ने अन्योलले मनलाई गाँजिरहेको छ कि ? हाम्रो शैक्षिक प्रणालीले अक्सर हामीलाई किताबी ज्ञानमा मात्रै सिमित गराइदिन्छ, बाहिरको प्रविधि, विज्ञान र असंख्य अवसरबारे हामी धेरै पछि मात्रै थाहा पाउँछौं। यो अवस्थामा थुप्रै युवाले महसुस गर्ने साझा पीडा हो यो।

भरतपुरका हिमाल सुवेदीले यही पीडालाई अझ चर्को रूपमा महसुस गरे, त्यो पनि कक्षा १२ पास गरेकै केही दिनमा। वर्षौंसम्म ‘उत्तम विद्यार्थी’ बन्ने प्रयासमा हिमालले किताबलाई नै आफ्नो संसार ठानेका थिए। राम्रो अंककै लागि सकिनसकी, दिनरात एक गरेर किताबका पाना रटिरहे। उनी सम्झन्छन्, “स्कूलका १२–१३ वर्ष मैले आफैंलाई किताबभित्रै कैद गरेँ। अंक नै सर्वोपरी हो भन्ने सोचेर मैले त्यसका लागि जस्तो पनि मिहिनेत गर्न तयार भएँ…. जसरी भए पनि, कहिलेकाहीँ नबुझिए पनि रटिरहें। अनि जब नतिजा आयो, ‘धेरै राम्रो नतिजा !’ भनियो। तर मैले के बुझें भने त्यो ‘राम्रो नतिजा’ ले मलाई यो फराकिलो दुनियाँमा उड्न सहयोग गर्नुको सट्टा किताबकै पानाभित्र झन् कसेर बाँधिदियो पो ।

सर्टिफिकेट हातमा लिएर केही दिन बाहिरी संसार चियाउँदै जाँदा हिमालको आँखा खुल्यो, एकप्रकारको कठोर (ब्याकलास) को महसुस भयो। अहो १ मैले १२–१३ वर्ष लगाएर जानेको ज्ञान त बाहिरको दुनियाँमा भइरहेको परिवर्तनको तुलनामा ज्यादै सानो रहेछ ! उनलाई लाग्यो, आफू त एउटा कुवाको भ्यागुतो जस्तै किताबको कुवामै सीमित पो रहेछु, बाहिर त प्रविधिले पूरै संसार बदलिदिएको रहेछ, नयाँ–नयाँ अवसरहरू हरेक दिन छरिएका रहेछन् । उनले आफ्नो पछिल्लो आठदेखि १२ कक्षासम्मका दिनहरू सम्झँदै घोत्लिए, ‘यत्रो समय किताबमै सीमित हुनुपर्ने रहेछ ? यो त समयको ठूलो बर्बादी रहेछ नि !’ । आफ्नो भविष्य निर्धारण आफैंले गर्नुपर्ने रहेछ । चाहना र प्रतिभालाई समयमै चिन्नुपर्ने रहेछ भन्ने बोधले उनलाई झस्कायो। तर, स्कुलमा प्रविधि र अवसरबारे कुनै जानकारी नदिनु, प्रयोगात्मक सिकाइको वातावरण नहुनु–यो केवल उनको समस्या थिएन, समग्र प्रणालीकै कमजोरी थियो । जसको परिणाम धेरै युवाले भोग्दै थिए।

तीन युवाको आँट, अभियानमा साथीहरूको साथः

आफ्नै जीवनको यो तितो अनुभव र लाखौं युवाको साझा समस्यालाई समाधान गर्ने अठोटका साथ हिमाल सुवेदी, सुबर्ण पौडेल र सुमित कुमार चौरासियाले ‘टेक जिज्ञाशा’ (Tech Jigyasha) अभियानको बीज रोपे। सुरुमा उनीहरू तीन जना मात्रै थिए। सीमित गोजी खर्च, अथक मिहिनेत र घर–घरबाट, स्कुल–स्कुलबाट सामना गर्नुपरेका चुनौतीबीच पनि उनीहरूले अभियानलाई अघि बढाए। कतिपय स्कुलले पत्याएनन्, आर्थिक सहयोगका लागि ९ भन्दा बढी ठाउँमा गरेको आग्रहमा रु.० सहयोग प्राप्त भयो। तर, यो तीन जना युवाको जोश, इमानदार उद्देश्य र उनीहरूले बोल्न खोजेको कुरा सुनेर केही समयपछि नै झलक सुवेदी, आयुष कँडेल, टोल प्रसाद काफले जस्ता अन्य उत्साही युवाहरू पनि ‘टेक जिज्ञाशा’ अभियानमा स्वेच्छाले जोडिन आए। यसरी सानो ‘तीन जना’ को टोलीले ‘हामी युवाहरूको अभियान’ बन्ने यात्रा तय गर्न थाल्यो।

ढिलै भयो, तर सही बाटो मिल्योः थिङ्क नीति र प्रोजेक्ट ब्रिङ्कसँगको सहकार्य

सानो टीमको बलमा केही विद्यालयमा पुगेर कार्यक्रमको प्रभावकारिता देखेर ‘टेक जिज्ञाशा’ टीमलाई आफ्नो पहुँच अझै बढाउन संस्थागत साथ चाहिएको महसुस भयो। यही गत जेठ महिनाको अन्तिम सातातिर (June 2025) मात्रै उनीहरूले युवा सशक्तीकरण र STEM शिक्षामा काम गरिरहेको ‘थिङ्क नीति फाउण्डेशन’ र त्यसको एक महत्वपूर्ण पहल ‘प्रोजेक्ट ब्रिङ्क’ बारे थाहा पाए। दुवै संस्थाको लक्ष्य युवालाई सक्षम बनाउनु रहेको देखेपछि सहकार्यका लागि कुरा अघि बढ्यो। लामो समय तीन जनाको सङ्घर्षपछि थप साथीसहित काम गरिरहेका टेक जिज्ञाशा र प्रोजेक्ट ब्रिङ्कको सहकार्यमा पहिलो औपचारिक ‘डिजिटल अवेरनेस एन्ड लिटरेसी प्रोग्राम’ सत्र असार ९ गते (June 23, 2025) मा मात्रै सञ्चालन भयो। ढिलै भए पनि यो सहकार्यले अभियानलाई वृहत् रूपमा अघि बढाउने बाटो खोलिदियो।

‘किताबी कीरा होइन, अवसर चिन्ने बनौँ !’ : १८००ं विद्यार्थीमाझ अभियानः

थिङ्क नीति अन्तर्गत सञ्चालित ‘डिजिटल अवेरनेस एन्ड लिटरेसी प्रोग्राम’ मार्फत अप्रिल १, २०२५ देखि जुलाई १, २०२५ सम्म आइपुग्दा चितवनका १० भन्दा बढी विद्यालयका १८०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन्। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित यो कार्यक्रम ‘किताबमा सीमित नभएर जीवनसँग जोडिएको’ नयाँ सिकाइ शैली हो।

विद्यालय र सहभागी विद्यार्थी संख्या (सूची):
– वाल्मीकि शिक्षा सदनः २००ं जना
– नारायणी मोडल सेकेन्डरी स्कुल (ल्ःक्क्) : २५० जना (कक्षा ८–९, पहिलो चरण)
– Apex Academy: १०० जना
– Ideal education hub: ३० जना
– ग्रीनल्याण्डः २५० जना
– नारायणी मोडल सेकेन्डरी स्कुल (NMSS): १५० जना (कक्षा ९, दोस्रो चरण)
– विश्व प्रकाशः २०० जना
– भीमनगर माविः १५० जना
– नारायणी पब्लिक स्कुलः ३०० जना
– प्रेरणाः १०० जना
– एसओएसः १००जना
कूल सहभागी विद्यार्थी संख्याः १८००ं

यी सत्रहरूमा किताबका पाना घोकिँदैनन्, बरु विद्यार्थीका दिमागमा प्रश्न छरिन्छ। कार्यक्रमको सुरुवात रोचक प्रश्न वा पहेलीबाट हुन्छ, जसले क्लासलाई तत्कालै चलायमान बनाउँछ। अन्तर्राष्ट्रिय ओलम्पियाडदेखि नयाँ शैक्षिक कोर्ष, छात्रवृत्तिदेखि विश्वव्यापी अवसरबारे कुराकानी हुन्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, विद्यार्थीलाई ChatGPT, Gemini (AI), Canva, Desmos (म्याथ टुल), Scratch, Google Sites (वेबसाइट), Suno AI (संगीत AI) जस्ता दैनिक जीवन र भविष्यमा काम लाग्ने निःशुल्क डिजिटल टुलहरू कसरी प्रयोग गर्ने भन्ने प्रत्यक्ष देखाएर सिकाउँछन्। जसले विद्यार्थीको हातमा प्रविधिको शक्ति महसुस गराउँछ।

सत्रको अन्त्यमा विद्यार्थीले सोध्ने प्रश्नहरूले नै यो अभियानको आवश्यकता पुष्टि गर्छन्ः ‘यदि मैले गल्ती बाटो रोजें भने के हुन्छ ?’, ‘मैले विज्ञान नपढे पनि विदेश जान सक्छु ?’, ‘अर्को विकल्प आजबाट सुरु गर्न ढिलो त भइसक्यो ?’, ‘जब कसैले कहिल्यै सोधेन, म कसरी बुझ्ने कि मलाई के मन पर्छ ?’ यी प्रश्न सुन्दा लाग्छ, हाम्रा विद्यार्थीहरू किताबी ज्ञानको भारी बोक्दाबोक्दै आफूभित्रको अलमल र चाहनाबारे सोच्नै भ्याएका छैनन् रहेछन्।

सङ्घर्षबाट सिकाइ, भविष्यतर्फको यात्राः

तीन जनाको व्यक्तिगत सङ्घर्ष र त्यसपछि जोडिएका अन्य साथीहरूको साथ अनि ढिलै भए पनि थिङ्क नीति र प्रोजेक्ट ब्रिङ्कसँगको सहकार्यले ‘टेक जिज्ञाशा’ लाई आज १८०० भन्दा बढी विद्यार्थीमाझ पुर्याएको छ। आर्थिक स्रोतको अभाव र शुरुआतका दिनमा स्कुलहरूबाट सामना गर्नुपरेका चुनौतीले उनीहरूलाई रोक्न सकेन। उनीहरूको प्रतिबद्धता स्पष्ट छः ‘जुन संसारमा धेरै व्यक्ति सशक्त हुनको लागि कसैको प्रतिक्षा गर्छन्, त्यहाँ हामीले अरूलाई पहिले सशक्त गर्ने बाटो रोज्यौं।’
अबको योजना चितवनका सबै विद्यालय हुँदै यो अभियानलाई देशभर फैलाउनु, इच्छुक विद्यार्थीलाई नियमित मेन्टरिङ गर्ने प्लेटफर्म बनाउनु र आवश्यक स्रोत जुटाउनु हो।

हिमाल, सुबर्ण, सुमित, झलक, आयुष, टोल प्रसाद र यो अभियानसँग जोडिएका सबै युवाले एउटा महत्वपूर्ण सन्देश दिएका छन्ः शिक्षा भनेको केवल ‘नम्बर’ होइन। यो त आफैंलाई चिन्नु, भविष्यको लागि तयार हुनु र परिवर्तनलाई अँगाल्न सक्नु हो। उनीहरूको सङ्घर्ष र यसबाट जन्मिएको अभियान लाखौं नेपाली युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । जसले सर्टिफिकेट हातमा भए पनि मनमा ‘अब के गर्ने ?’ भन्ने प्रश्न बोकिरहेका छन्। यो अभियान भन्दैछ ‘डराउनु पर्दैन, अवसर यहीँ छन्, बस चिन्न सक्नुपर्छ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>