राजनीति
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी

काठमाडौं,जेठ २१-
निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच दिन म्याद थप गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थपेको म्याद आगामी शनिबार सकिँदै छ ।
सुधन गुरुङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि सार्वजनिक सम्पत्ति विवरण फरक परेपछि उनको सम्पत्तिलाई लिएर विवाद सुरु भएको थियो । गुरुङमाथि आरोपहरू बढ्दै गएपछि उनले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
सरकारले वैशाख २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको प्रवक्तासमेत रहेका सहन्यायाधीवक्ता न्यौपानेले प्रतिवेदन लेखनको काम भइरहेको जानकारी दिए ।
“हामी प्रतिवेदन लेखनको काममा जुटिरहेका छौँ,” न्यौपानले भने, “थपिएको समय शनिबार सकिँदै छ । सम्भवतः त्यसबेलासम्म हामी काम सम्पन्न गर्नेछौँ । उक्त दिन बिदाको दिन भयो । आइतबार पानि सार्वजनिक बिदाकै दिन परेकाले सोमबार प्रतिवेदन बुझाउने तयारीमा छौँ ।”























