चितवन विशेष
झ्याप–झ्याप बत्ती जाने समस्याले चितवनवासीलाई हैरानी,लोडसेडिङ कि प्राधिकरणको लापरवाही ?

चितवन,जेठ २१-
चितवनमा केही दिन यता विद्युत सेवा अनियमित भएको छ । जसले गर्दा सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्मले हैरानी खेप्नु परेको छ । गयरातीदेखि चितवनका विभिन्न ठाउँमा विद्युत सेवा अबरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरको फिडर १ र गौरिगन्जतर्फ जाने फिडर २ मा समस्या देखिएपछि विद्युत सेवा अनियमित बनेको हो ।
बिहान ३ बजेदेखि ८ बजेसम्म फिडर १ मर्मतका लागि बन्द गरिएपनि त्यसपछि विद्युत प्रवाह हुँदा ओभर लोडका कारण विद्युत सेवामा थप समस्या आएको प्राधिकरणले जनाएको छ । भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद काफ्लेका अनुसार उपभोक्ताले एकैपटक धेरै लोड लिने विद्युतिय उपकरण प्रयोग गर्दा समस्या हुने गरेको छ ।
आज दिनभर जसो भरतपुरका विभिन्न क्षेत्रमा विद्युत अनियमित भयो । जिल्ला प्रशासन कार्यालयमा पनि केहीबरे यस्तो समस्या भएको थियो । जसका कारण सेवाग्राहीले समेत सास्ती व्यहोर्नु परेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यालयमै बोलाएर कडा निर्देशन दिँदै विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न र समस्याका बिषयमा जानकारी नागरिकलाई तत्काल दिन निर्देशन दिनुभयो । प्राधिकरणले विना जानकारी पटक पटक विद्युतको लाइन काट्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन ।
























