चितवन विशेष
सोमेश्वर गढीमा गुन्जियो गजल

चितवन, जेठ १७-
चितवनको माडीमा रहेको धार्मिक ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको सोमेश्वर गढीमा गजल मञ्च चितवन र माडी नगरपालिकाको संयुक्त आयोजनामा “गढीमा गजल” कार्यक्रम सम्पन्न भएको छ।
चितवन नवलपरासी मकवानपुर लगायतका जिल्लाका गजलकारहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकालको प्रमुख अतिथ्यता रहेको थियो भने माडी नगरपालिका नगर उपप्रमुख खेमप्रसाद महताे विशिष्ट अतिथिका रूपमा रहेका थिए। बिहान ७ बजे नै स्रष्टाहरु सोमेश्वर गढीमा पुगी गजल मार्फत पर्यावरण संरक्षण देश प्रेम विकृति विसङ्गतिमाथिको व्यङ्ग्य मिश्रित गजलहरू वाचन गरेका थिए। ३५ बढी गजलकारहरूले रचना वाचन गरेको उक्त कार्यक्रम को अध्यक्षता गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गरेका थिए। गजल मञ्च चितवनकी सचिव प्रमिला सानुले सञ्चालन गरेको उक्त कार्यक्रममा गजलकार विपिन पाठकले स्वागत मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा चितवनका विभिन्न संघसंस्थाहरूका प्रतिनिधिका साथै माडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेशप्रसाद घताने माडी-२ का वडाध्यक्ष दण्डपाणि पौडेल लगायतको विशिष्ट आथित्यता रहेको थियो । माडी नगरपालिकामा यसरी स्रष्टाहरूलाई स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको र आगामी दिनमा समेत माडीलाई चिनाउनका लागि स्रष्टाहरूले महत्त्वपूर्ण भूमिका रहने कार्यक्रमका प्रमुख अतिथि ठाकुरप्रसाद ढकालले बताए।
कार्यक्रममा माडीसँगै चितवनका साहित्यिक सर्जक, साहित्यानुरागि व्यक्तित्वहरूले विभिन्न परिवेश र विषयवस्तु समेट्ने सहित्यिक रचना एवं गजल प्रस्तुत गरेका थिए ।





















