अन्तर्राष्ट्रिय
ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन,बैशाख १९-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ। राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। सो स्थानका अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ।
वाल्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए। फ्लोरिडाका पूर्व कांग्रेस सदस्य वाल्ज ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसमा हट्ने पहिले व्यक्ति भएका छन्। वाल्जले कांग्रेस सदस्यदेखि सरकारका काम गर्दासम्म हरेक युद्ध मैदानमा कुशलता पूर्वक आफूलाई राखेको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन्। बिबिसी श्रोतका अनुसार वाल्जलाई संसद्ले अनुमोदन गर्ने क्रममा सङ्घर्ष गर्नुपर्ने अवस्था देखेर ट्रम्पले सम्मानजनक ढङ्गले पहिले नै बिदाइ गरेका हुन्।
मार्च महिनामा उच्च अमेरिकी सुरक्षा अधिकारीको ग्रुप च्याटमा एटलान्टिक म्यागेजिनका सम्पादक जियफ्रे गोल्डवर्गलाई समावेश गरेका कारण उनी आलोचित भएका थिए। ट्रम्पले यसअघि नै राष्ट्र सङ्घको दूतमा एलिस स्टेफानेकलाई चयन गर्ने निर्णय गरे पनि त्यस निर्णयबाट फिर्ता भएकाले सो पद खाली नै छ। आधा शताब्दी अघि हेरी कसिङ्गरपछि विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार दुवै जिम्मेवारी सम्हाल्ने मार्क रुबियो पहिलो व्यक्ति भएका छन्।

























