Breaking News

भोलि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

Banner

काठमाडौं,बैशाख ११-

नेपाल चिकित्सक संघले भोलि (वैशाख १२ गते) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार विज्ञप्ति प्रकाशित गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा सहभागी नहुन आह्वान गरेको हो।

यस्तै, उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ।

निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्।  चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै बिहीबार पनि माइतीघरस्थित स्वास्थ्यमन्त्रालय अगाडि प्रदर्शन गरेका थिए।

चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन्। तर, निजी कलेज सञ्चालकहरु आफूहरुले त्यो दिननसक्ने अडान लिइरहेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>