देश/प्रदेश
‘जनमत–नाउपाको एकता रोक्न परिवारमा झगडा गराउनेदेखि ज्यान मार्ने धम्की: सिके

काठमाडौँ, वैशाख ११-
नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँगको एकता देख्न नचाहने शक्तिले परिवारमा झगडा गराएर फुट ल्याउनेदेखि ज्यान मार्नेसम्मका धम्की दिइरहेको दाबी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गरेका छन्।
बिहीबार फेसबुक पेजबाट एक अभिव्यक्ति सार्वजनिक गर्दै राउतले लेखेका छन्, ‘धेरै शक्तिहरूको अहिले निद्रा उडेको छ, ‘किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’
जनमत र नाउपा दुइटैलाई शक्तिशाली देख्न नचाहनेहरूले दुवै पार्टीलाई तहसनहस गर्न विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको दाबी उनले गरेका छन्।
‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नाना भाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेसमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ राउतले लेखेका छन्। अगाडि लेखेको छन्, ‘तपाईँहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकाङ्क्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै।’

























