नवलपुर
थारु समुदायको आर्थिक शसक्तिकरण सम्बन्धि अभिमुखिकरण

उमा बोटे
कावासोती, चैत २७–
सामाजिक विकास कार्यालय नवलपुरको आयोजनामा थारु समुदायको आर्थिक शसक्तिकरण तथा सचेतना अभिवृद्वि सम्बन्धि अभिमुखिकरण दलदलेमा सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभा नवलपुर र देवचुली नगरपालिकाको समन्वयमा भएको अभिमुखीकरण कार्यक्रमको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले सिप विकास अभिवृद्वि दक्ष जनशक्ति तयार पार्न नगरपालिका सदैव लागि पर्ने भन्दै सोही अनुसारको कार्यक्रम सञ्चालन गर्दै आईरहेको बताउनुभयो ।
सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण प्रसाद पौडेलले सिमान्तकृत, आदिवासी जनजाति, राज्यको मुलधार बाहिर रहेका वर्ग, समुदायको उत्थानको महत्वपूर्ण पक्ष आर्थिक शसक्तिरण भएकोले यो अभिमुखिकरण आयोजना गरिएको बताउनुभयो । बोटे, माझी, मुसहर समुदायका निम्ति आय आर्जन सम्बन्धि कार्यक्रम सञ्चालन गरिसकेको र थारु समुदायको निम्ति दलदलेमा र भोली (बिहीबार) चोरमारा गरि दुई स्थानमा अभिमुखिकरण आयोजना गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले मानव संशाधन विकासको सवालमा आर्थिक सबलिकरण महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा गैंडाकोट, देवचुली र कावासोती नगरपालिकाका ८० जना सहभागी रहेको थियो । तालिममा उद्यमशिलता विकास अभियान्ता केबी रानाले गरिवी, निवारण तथा उद्यमशिलता विकास मार्फत रोजगारी सृजना विषयमा सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक रानाले मुलुकको आर्थिक समृद्वि र विदेश पलायन भएका युवा जनशक्तिलाई स्वदेशमै रोक्न उद्यमशिलता विकासको विकल्प नभएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बढ्दो आत्मा हत्या न्यूनीकरण, साईबर सुरक्षा, सडक सुरक्षा, लैङ्गिक हिंसा लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो । नवलपुरमा बढ्दो सवारी दुर्घटना, आत्महत्या, साईबर क्राईम जस्ता सामाजिक विकृति दिनानुदिन बढ्दै गएकाले यसको न्यूनीकरणमा नीति, निर्माता र आम नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले वित्तिय क्षेत्र पहुुंच नहुनाले नवलपुरमा धेरै थारु समुदायका व्यक्तिहरु ठगिन पुगेको बताउनुभयो । वित्तिय साक्षरता र आर्थिक शसक्तिकरण सम्बन्धि सचेतना कार्यक्रम गाउँ टोल–टोलमा सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको अध्यक्ष महतोको भनाई थियो । तालिमको सहजिकरण गर्नुहुंदै सामाजिक विकास कार्यालय नवलपुरका लेखा अधिकृत हरि शंकर शर्माले सामाजिक विकास कार्यालयले राज्यको मुल धारमा हरेक वर्ग र समुदायलाई समावेशी ढंगले अवसर प्रदान गर्न विगत देखि नै निरन्तर सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको र भावी दिनमा अझै थप कार्यक्रम गर्ने बताउनुभयो ।