देश/प्रदेश

सूर्यग्रहण लाग्ने दिन चैत १६ मा शनिग्रह विशेष पूजा हुने

Banner

स्याङ्जा, चैत ९-

अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साढेसाती पूजा हुने भएको छ ।

हालै निर्माण भएको नवग्रह मन्दिरमा लोककल्याण एवं शनिग्रह शान्तिका लागि १६ चैतमा विशेष पूजा हुन लागेको हो । यो पूजा नेपालमा पहिलो आयोजना गरिएको र जुन धार्मिक महत्वका दृष्टिले मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट समेत विशेष रहने बताइएको छ ।

चैत्र कृष्ण औंसीका दिनमा ( चैत १६ गते) शनिग्रह कुम्भ राशिबाट मीन राशिमा अर्थात् १२ औं घरमा प्रवेश गर्ने भएकाले त्यस दिन विशेष पूजा गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

विशेष पूजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको अभिषेक एवं विधिपूर्वक पूजा गरिनेछ । साथै, शनिदेवको निशानप्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ । चैत १६ गते सूर्यग्रहण लाग्ने भएकाले यो दिनको पूजालाई अझ विशेष मानिएको छ ।

ज्योतिष शास्त्रअनुसार नौ ग्रहमध्येका एक शनि कर्म, अनुशासन, न्याय, धैर्यता, र जिम्मेवारीको प्रतीक मानिन्छन् । शनि मानिसलाई जीवनमा कठोर परिश्रम, धैर्य, र आत्मअनुशासन सिकाउने ग्रह हुन् । नवग्रहहरुमध्ये शनिको सबैभन्दा सुस्त गति हुनासाथ पनि मानव जीवनमा यसको प्रभाव गहिरो एवम् दिगो हुन जाने विश्वास गरिन्छ ।

हिन्दु धर्मअनुसार शनि जब कुनै राशिमा प्रवेश गर्छन्, त्यसले सो राशिको गुणधर्मअनुसार फरक प्रभाव पार्छ । यदि शुभ स्थानमा रहे भने, यसले सफलता, दृढ इच्छाशक्ति, र स्थायित्व प्रदान गर्छ, तर अशुभ स्थानमा भएमा अवरोध, ढिलाइ, तथा कठिनाइहरू ल्याउन सक्छन् । शनि ग्रह गुरु बृहस्पतिको राशिमा प्रवेश गर्दा त्यति नकारात्मक असर नदेखिए पनि मानव जीवनमा यसका विभिन्न प्रभावहरु पर्दछन् ।

शनि मीन राशिमा रहँदा सबै राशिहरूमा विभिन्न प्रभाव पार्ने गर्दछ । यसले मुख्यतः मीन राशिमा नकारात्मक असर पार्ने भएपनि यसको असर अन्य राशिमा पनि पर्ने देखिन्छ । यसको नकारात्मक असर कम गर्नका लागि शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । साथसाथै, हनुमानको पूजा गर्ने, हनुमान चालिसा पढ्ने, शनिदेवलाई तेल चढाउने, गरिव दिन दुःखीलाई भोजन गराउने गरेमा पनि शनि प्रशन्न भई नकारात्मक असर कम गराउन सकिने शास्त्रहरुमा उल्लेख छ ।

प्रत्येक साढे २ वर्षमा ग्रहले राशि परिवर्तन गर्ने गर्दछ । त्यस दिन शनिवार राती १० बजेर २२ मिनेटमा शनि ग्रहले राशि परिवर्तन गरेर मीन राशीमा जानेछ । यसरी मीन राशीमा आएको शनि ग्रह ३० महिनासम्म मीन राशीमा रहने बताइन्छ । ज्योतिषशास्त्रका अनुसार राशी परिवर्तन गर्ने यो समीकरणलाई मुलुकमा समस्या पैदा गर्न सक्ने चुनौतीपुर्ण समीकरणका रूपमा हेरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>