समाचार
बाग्लुङ समाज दक्षिण कोरियाद्धारा मृगौला पीडित थापालाई पाँच लाख सहयोग

चितवन, चैत ७-
बाग्लुङ समाज दक्षिण कोरियाले मृगौला पिडित “नगेन्द्र थापा सहयोग अभियान“ मार्फत संकलित रकम हस्तान्तरण गरिएको छ । बाग्लुङको जैमिनी नगरपालीका वडा नं १० स्थित राङखानी घर भएका थापालाई पाँच लाख रुपैयाँ भन्दाबढी रकम हस्तान्तरण गरिएको हो ।
दक्षिण कोरियामा रहँदा विभिन्न संघसंस्था र कला साहित्यमा समेत आफ्नो अमुल्य योगदान दिएका थापाको उपचारको लागि बाग्लुङ समाज दक्षिण कोरियाले ‘जिवन रक्षार्थ आर्थिक सहयोग अभियान’ समेत सञ्चालन गरेको थियो । सो क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिमार्फत संकलन भएको पाँच लाख १७ हजार पाँच सय ८७ रुपैयाँ बिरामीको खातामा पठाइएको बाग्लुङ समाज दक्षिण कोरियाका महासचिव शोभाखर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, बाग्लुङ समाज सहित १ सय ३५ जनाले सहयोग गरेका थिए ।
यस अभियानमा जोडिने सम्पूर्णलाई व्यक्ति तथा संघसंस्थालाई समाजले धन्यवाद समेत दिएको छ । सामाजिक काममा लाग्दै आउनुभएका थापाले स्वदेशमा रहेर लघुउद्यम समेत सञ्चालन गर्नुभएको थियो ।
प्रवासी भुमीमा बाग्लुङेहरुको एकता सामाजिक कार्यमा सवैको सहभागिता आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता भन्ने मुल नाराका साथ सन २००१ मा स्थापित बाग्लुङ समाज दक्षिण कोरियाले जिल्लाभित्र पुस्तकालय, विपन्न स्वास्थ्य उपचार अक्षय कोष, एम्वुलेन्स सहायता लगायत कामहरु गरिसकेको छ । साथै प्राकृतिक प्रकोप तथा विपदका समयमा जनतासंग हातेमालो गर्दै आएको महासचिव शमाले बताउनुभयो ।

























