समाचार
बेलुनमा रसायन पदार्थ नराख्न छानविन समितिको सुझाव

चितवन, चैत ५-
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटका विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले आज (मंगलबार) गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।
भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका प्रमुख धनराज आचार्य घाइते भएका थिए। घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिले घटनाको विस्तृत छानबिन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिए।
समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रममा प्रज्वलनशील पदार्थको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रम औपचारिक समारोहमा समावेश गर्न नहुनेलगायत सुझावसहितको विषय समेटिएको छ।

























