अन्तर्राष्ट्रिय

स्पेनको कोष्टाव्लाङ्का क्षेत्रमा नेपालीको अभिलेख लिइदै, छिटै राहदानी घुम्ती सेवा ल्याउने

Banner

विप्लव काफ्ले
स्पेन, चैत ५
नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए ।

नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । ‘नयाँ पुराना सबै नेपालीहरुलाई समाजमा जोड्ने छौँ’, उनले भने, ‘प्रत्यक्ष भेटेरै समस्या समाधान गर्न पहल गर्नेछौँ ।’ उनले राहदानी (पासपोर्ट) को घुम्ती सेवा ल्याउनका लागि स्पेनस्थित नेपाली राजदुतावासलाई अनुरोध गरिने बताए । राहदानी बनाउनुपर्ने व्यक्तिहरुको नामावली संकलन गर्न सूचना समेत निकालिने बताए ।
नेपालहरुका लागि सहयोग गर्न हेल्प डेस्क बनाइने बताए । उनले गुम्बा-मन्दिर निर्माण अभियान तीव्र पारिने बताए । ‘स्पेनमा संसारभरका पर्यटक आउँछन्’, उनले भने, ‘बुद्ध र हिन्दु धर्म, नेपाली चाडपर्वबारे जानकारी दिने सेन्टर सरह हुनेछ ।’ गुम्बा-मन्दिर बनाउन रकम जुटाउने देखि जग्गा खोजि गर्ने कार्यमा अग्रजहरुसँग पनि सल्लाह लिदै सफल पारिने बताए ।

महासचिव विजय कुँवरले नेपाली भाषाको स्कुल चलाउने लक्ष्य लिइएको बताए । स्पेनमा जन्मिएका नेपाली बालबच्चाहरुलाई नेपाली भाषा, संस्कृति बुझाउन स्कुल महत्त्वपूर्ण रहेको बताए । सचिव छेसाङ लोप्चन असिमका अनुसार दुई वर्षे कार्ययोजना निर्माणले समाज थप सक्रिय बन्ने बताए ।

उनका अनुसार गुम्बा-मन्दिर निर्माण अभियान, राहदानी घुम्ती सेवा, समन्वय उपसमिति बनाउने, नेपाली भेला ‘मितेरी कार्यक्रम, नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम गर्ने, तीज विशेष कार्यक्रम झमाइती’ कार्यक्रम गर्ने, दशै-तिहार विशेष सांस्कृतिक कार्यक्रम ‘नेपाली उत्सव’, तिहारमा देउसी कार्यक्रम गर्ने योजना रहेको बताए । नेपाली स्कुल सञ्चालन, तालिम (दक्षता अभिवृद्धि) सञ्चालन , हेल्प डेस्क निर्माण, अन्तर्राष्ट्रिय फुड फेष्टिबलमा नेपाली खाना, कला संस्कृति प्रदर्शन गर्ने लगायतका दर्जनौं कार्यक्रमहरु समावेश गरिएका छन् ।

एशोसियसनको पहिलो बैठकले निवर्तमान कार्यसमिति तथा निर्वाचन समितिलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगामी बैठकले संरक्षक तथा सल्लाहकार चयन गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area