देश/प्रदेश

‘राउटे समुदाय जलवायु परिवर्तनको जोखिम सामना गर्दैछन्’

Banner

कर्णाली, चैत ३-

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जलवायु परिवर्तनका कारण राउटे समुदायले विभिन्न जोखिमसँग सामाना गरिरहेको बताउनुभएको छ ।

प्रदेश सरकारको समन्वयमा डिपिनेट नेपालद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर/प्रभाव’सम्बन्धी कार्यक्रममा उहाँले लोपोन्मुख राउटे समुदायलाई जलवायु परिवर्तनको असरबाट बचाउन सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो । पछिल्लो समयमा राउटेलाई देखाउने काम भए पनि उनीहरूको सीप, कला उपयोग हुन नसकिरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “राउटे समुदायबाट निर्माण भएका कोशी, मधुसजस्ता सामग्रीको प्रदर्शनी र बजारीकरण गर्न आवश्यक छ, यो समुदायका विभिन्न सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गरिनुपर्छ ।”

राउटेलाई चुरोट, सुर्ती तथा मादक पदार्थ सेवनजस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने धारणा राख्दै मन्त्री भण्डारीले उनीहरूको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार उक्त समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेकाले प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य अगाडि बढाउने योजना बनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>