समाचार
मागका आधार योजना छनोट

ढोरपाटन (बागलुङ), फागुन २८-
जिल्लामा सबैभन्दा ठूलो भूगोलमा फैलिएको बडिगाड गाउँपालिकाका केही गाउँ बस्ती सडक सञ्जालले जोडिन सकेको छैन । यस्तो अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले भौतिक पूर्वाधार अन्तर्गत सडक विस्तारलाई उच्च प्राथमिकता दिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका २३३ योजना कार्यान्वयनमा ल्याएको छ ।असरमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई तीव्र रुपमा कार्यान्वयनमा लागेको हो ।
गाउँसभाबाट छनोट भएका कूल ती योजनामध्ये हालसम्म १७४ वटा सम्झौता भएर धमाधम काम भइरहेका छन् भने ४७ योजना सम्पन्न भइसकेका छन् । बाँकी ५९ योजना सम्झौताको चरणमा रहेको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले नागरिकको आवश्यकता र मागका आधार योजना छनोट गरेको उहाँको भनाइ छ ।
पालिकाका १० वटै वडामा हालसम्म ४७ योजना सकिएको जनाइएको छ । नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने गरी योजना कार्यान्वनमा लागेको उहाँले बताउनुभयो । चालु वर्ष खानेपानी, सडक, सिँचाइ, भवन, खेलमैदान, सरसफाइ, संस्कृति प्रवद्र्धन र लघु जलविद्युत्सम्बन्धी योजना रहेको पौडेलको भनाइ छ । चैत मसान्तसम्म सबै योजना सक्ने गरी काम भइरहेको पौडेल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “बडिगाडका अधिकांश योजना सम्झौता भइसकेर काम भइरहेका छन्, हामीहरुले ठूला योजनालाई सुरुमै सम्झौता गरी काम अगाडि बढाएका हौँ, भने अन्य अयोजना अहिले सम्झौताका चरणमा छन्, पालिकाको सबै वडामा गएर उपभोक्ता समिति बनाउने र योजना सम्झौता गरेका हौँ, योजना सम्झौताका लागि पालिकामै आउनुपर्ने बाध्यता छैन ।”
यस वर्ष बडिगाडको बजेट कूल बजेट रु ७२ करोड ९१ लाख ६२ हजार थियो । जसमध्ये हालसम्म ३७.६ प्रतिशतअर्थात् रु २७ करोड दुई लाख ७० हजार खर्च भएको छ गाउँपालिकाले जनाएको छ । पालिकाले यस वर्ष वडा नम्बर ६ को वडा कार्यालय निर्माणका लागि रु एक करोड, सडक सुधार तथा सरफाइका लागि रु ६५ लाख र हेफरसँग सहकार्य गरेर नागरिकलाई पशुपालन तथा कृषिमा आत्मनिर्भर बनाउनका लागि रु ८० लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । अहिलेसम्म सडकले नजोडिएको गाउँलाई जोड्नका लागि भेडीखोर–फोर्सा सडक खोल्नका लागि रु ४० लाख विनियोजन गरेको उहाँको भनाइ छ ।
“सीमित स्रोत र साधनका बीच धेरै नागरिकको आवश्यक पूरा गर्नेपर्ने छ, एकै पटक सबैतिर विकास गर्न सम्भव नहुने रैछ, यद्यपि हामीहरुले सबै भूगोल, वडा र समस्यालाई बुझेर काम गरिरहेका छौँ, समयमै सबै योजना सक्नुपर्छ भन्ने मान्यताले धमाधम योजनाका कामहरु भइरहेका छन्”, उहाँले भन्नुभयो । रासस

























