देश/प्रदेश

पूरै दिनको यात्रा चार घण्टामा छोटियो

Banner

म्याग्दी, फागुन २३-

धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभयो ।

“लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।”

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन् । हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ ।

लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताउनुभयो । “गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन डोकामा बोकेर ल्याउँथे”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाएका छन् ।”

गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताउनुभयो । गुर्जासम्म सडक पुर्‍याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ । गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

“गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रू दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रू तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम हालै सकिएको हो ।”

योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९र८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ ।

लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको रू ७० लाख बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो । प्रदेश सरकारले विनियोजन गरेको रू ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>