Breaking News
निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदै

काठमाडौं,फागुन २०-
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।
यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्। हामीलाई प्राप्त प्रारम्भिक सूचीअनुसार अमेरिकाले ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काउन लागेहो हो। यो संख्या थपघट पनि हुनसक्छ, नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने।
झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ।
























