अन्तर्राष्ट्रिय
महाकुम्भमा स्नान गरेर फर्किएकाहरूमा लुतो र छालासम्बन्धी समस्या-चिकित्सक

एजेन्सी,फागुन १२-
प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ। भारतको राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन्। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो। यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ।
राँचीस्थित लक्ष्मी क्लिनिकका छाला रोग विशेषज्ञ डा.यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन्। बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन्।
बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ। प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ। जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आर्द्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ। गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।एजेन्सी
फोटोः अमृता भट्टराई

























