चितवन विशेष
कांग्रेससँगको सम्बन्ध सन्तुलित ढंगले अगाडि बढाउनुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

चितवन, फागुन ११-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपाली कांग्रेससँगको सम्बन्धलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । आज चितवनमा भएको प्रेस चौतारी बागमती प्रदेशको अधिवेशनलाई उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले देशको आवश्यकता अनुसार कांग्रेस र कम्युनिष्टहरु एकताबद्ध भएको बताउँदै कांग्रेससँगको सम्बन्धलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्ने बताएका हुन् ।
‘मुलुकमा संकट आएको बेलामा र ठुला ठुला परिवर्तन गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकता बद्ध भएका छन् । सहकार्य गरेका छन् । तर उनीहरुको बिचमा प्रतिस्प्रर्धा पनि छ । यो यथार्थ हो ।’उनले भने ‘यो दुईटा पाटालाई संतुलित ढंगले अगाडि बढाउनुपर्ने खाँचो छ ।’
अहिले नेपाली कांग्रेससँगको एकता मुलुकका लागि आवश्यक रहेको समेत उनले बताए । विगतमा पनि कांग्रेस र कम्युनिष्ट बिच एकता भएको दाबी गर्दै पोखरेलले कांग्रेससँगको सम्बन्धी आयामिक रहेको दाबी गरे । २०४६ साल अगाडि नै कांग्रेससँग सहकार्य गर्ने नीति ल्याएको उनले बताए ।
‘नेकपा मालेको चौथो महाधिवेशनमा कांग्रेससँग एकता गर्नुपर्छ भनेर नीति नै पास भएको थियो । मदन भण्डारीले २०४६ सालको आन्दोलनको पछाडि ऐतिहासिक परिवर्तनलाई टिकाउन १० वर्षसम्म सहकार्य गर्नुपर्छ भनेका थिए, उनले भने ‘ठुला उपलब्धिहरुलाई संस्थागत गर्न सहकार्य आवश्यक छ । तर यो सहकार्य गरिरहँदा प्रतिस्प्रर्धा गर्नुपर्छ भन्ने कुरा विर्षनु हुँदैन ।’ तर, प्रतिस्प्रर्धा गर्ने पात्र पनि कांग्रेस भएकाले दुई वटा शक्ति बिचको सम्बन्धलाई ठिक ढंगले बुझ्नु पर्ने धारणा राखे । पोखरेलले आवश्यक परेको समयमा दुई ठुला पार्टीहरुले सहकार्य गरेको समेत बताए ।
‘२००७ सालमा राणा विरोधी क्रान्तिको बेलामा कम्युनिष्टहरु भर्खर भर्खर संगठित भएका थिए । राजाले संसदभंग गर्दा त्यसको विरोधसँगै गरेको हो कि होइन । २०३६ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिष्टहरु बहुदलिय पक्षमा एक ठाउँमा उभिएको हो कि होइन । २०४६ सालको जनआन्दोलनमा एकैठाउँमा उभिएको हो कि होइन?’ उनले प्रश्न गर्दै भने ‘२०६२/२०६३को प्रतिगमन विरोधी आन्दोलनमा एक ठाउँमा उभिएको हो कि होइन? र संविधान जारी गर्ने बेलामा एक ठाउँमा हो कि होइन? यसको अर्थ के हो भने मुलुकमा संकट आएको बेलामा र ठुला ठुला परिवर्तन गर्ने बेलामा कांग्रेस र कम्युनिष्ट एकता बद्ध भएका छन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालमा बहुमत ल्याउने समेत दाबी गरेका छन् । ‘नेकपा एमालेले मिसन ८४ भनेको छ । मिसन ८४ भन्नुको अर्थ कहि कतै कन्फ्युजन नहोस् । २०८४मा हुने निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउँछ । स्थानिय तहमा बहुमत ल्याउनुपर्छ प्रदेश तहमा बहुँमत ल्याउनुपर्छ । संघिय संसदमा बहुमत ल्याउनुपर्छ भन्ने योजनाको उद्घोष हो’, उनले भने ‘यो किन भनेका छौँभन्दा हामी राजनीतिक अस्थिरताले आक्रान्त छौँ । त्यसबाट मुक्ति दिन हामीले बहुँमत ल्याउन मिसन ८४ भनेका छौँ ।’



























