देश/प्रदेश

उदयपुरमा तीन प्रजातान्त्रिक योद्धाको सालिक निर्माण

Banner

गाईघाट (उदयपुर), फागुन ८-

जिल्लाको विभिन्न स्थानमा प्रजातान्त्रिक योद्धाहरुको सालिक निर्माणले निरन्तरता पाइरहेको छ । हालसम्म तीन प्रजातान्त्रिक योद्धाको सालिक स्थापना भइसकेको छ ।

यहाँको चौदण्डीगढी नगरपालिका– ४ बसाहा बजारको मुख्य चोकमा प्रजातन्त्र दिवसका अवसर पारेर बुधबार २००७ सालका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको सालिक अनावरण गरियो ।

विसं २०६६ मा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक निर्माण गरिएको थियो ।

त्रियुगा नगरपालिकाको गाईघाट बजारको मुख्य चोकमा गत असोजमा नेपाली कांग्रेसका नेता बिपी कोइरालाको सालिक स्थापना भइसकेको छ । हाल उक्त चोकको नामसमेत बिपी चोक नामकरण गरिएको छ ।

प्रजातन्त्रका लागि राणा शासनविरुद्ध लडेका यी तीन महान योद्धाहरु स्वर्गीय बिपी कोइराला, पुष्पलाल श्रेष्ठ र नारदमुनि थुलुङको सालिक निर्माण गरिनु इतिहासलाई सम्मान गर्नु रहेको जिल्लाका पुराना वामपन्थी नेताहरुद्वय मणि पौडेल र राममणी पोखरेल बताउनुहुन्छ ।

“प्रजातन्त्र स्थापनाका लागि लड्ने महान यिनै योद्धाका कारण देशमा लोकतन्त्र स्थापना भएको छ, यस कारण हामी सबै राजनीतिक दलसहित नेपाली जनताले उनीहरुलाई युगौंँयुग स्मरण गरिरहन पनि सालिक निर्माणले महत्वपूर्ण भूमिका खेल्छ”, पोखरेलले भन्नुभयो ।

जिल्लाका कांग्रेस नेता नारायण कार्की भन्नुहुन्छ, “प्रजातन्त्रका लागि लड्ने महान नेता कुनै पार्टीको मात्र एकलौटी हुँदैन, त्यसैले उनीहरुको युगौंँसम्म स्मरण गरिरहन पनि सालिक निर्माणको महत्त्वपूर्ण छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>