देश/प्रदेश
सरकारले दिन सकेन स्मार्ट लाइसेन्स, अझै २२ लाख थान छाप्न बाँकी

काठमाडौं, फागुन ४-
चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म)मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । यो अवधिमा एक लाख ६९ हजार ४ सय ३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरिरहेको जनाएको छ । पछिल्लो समय करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिएका हुन् ।
यातायात व्यवस्था विभागले २०८० असारदेखि सवारी लाइसेन्स छपाइ बन्द गरेको थियो । करिब सात महिना बन्द भएपछि ६ लाख थान लाइसेन्स छाप्ने कार्ड आयात भएको थियो । उक्त अवधिमा छाप्नुपर्ने १४ लाख थान सवारी लाइसेन्स थुप्रिसकेका थिए ।
यसका लागि थप ६ लाख थान कार्ड तीन महिनाभित्र आयात हुने र पुनः १५ लाख थान कार्ड र एउटा छपाइ मेसिन खरिदका लागि टेन्डर गरिएको विभागले जनाएको थियो ।
उक्त लाइसेन्स छपाइ हुन नसक्नुको प्रमुख कारण प्रविधिअनुसार क्षमता नपुग्नु रहेको सचिव शर्मा बताउँछन् ।
‘लाइसेन्स छपाइको विषयमा प्रविधि हाम्रो क्षमता पछाडि भएछ । बढी सेक्योर प्रविधि भनेर जुन प्रविधि ल्यायौँ, त्योअनुसार क्षमता भएन,’ उनले भने, ‘त्यो कार्ड पनि आफ्नो देशमा उत्पादन हुँदैन । त्यसको मेसिन पनि उत्पादन हुँदैन र त्यो सफ्टवेयर पनि बनाउन नसक्ने हुँदा बाहिरको भर पर्नुपर्यो ।’
हालको प्रविधिअनुसार स्मार्ट लाइसेन्स छपाइका लागि उपकरण खरिद गर्न गत वर्ष ठेक्का गरे पनि त्यो ठेक्का नलागेपछि पुनः यो वर्ष पनि आह्वान गरिएको उनले जानकारी दिए ।