देश/प्रदेश

दैनिक दुई बालबालिकामाथि साइबर दुर्व्यवहार

Banner

काठमाडौं, फागुन २-

इन्टरनेटको दुनियाँमा तपाईंका बालबालिका कत्तिको सुरक्षित छन् त ? तपाईंका बालबालिका इन्टनरनेटमा कस्तो सामग्री हेरिरहेका छन् वा पढिरहेका छन् ? यसबारे ख्याल गर्नुभएको छैन भने सावधान हुनुहोस् किनभने सरकारी, गैरसरकारी विभिन्न निकायले अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्थाबारे गरेको अध्ययनले अनलाइन दुर्व्यवहारमा बालबालिका बढी फसेको तथ्य उजागर गरेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ, नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार आव २०८०/८१ मा ६३५ बालबालिकामध्ये बालक २५३ र बालिका ३८२ साइबर अपराधमा परेको उजुरी दर्ता भएको ब्युरोकी वरिष्ठ सई एवं प्राविधिक सवित्रा कार्कीले बताइन्। उनका अनुसार ब्युरोमा दर्ता भएका १८ वर्षभन्दा माथिका महिलाको संख्या आठ हजार ७४५ छ। नेपालमा अनलाइनबाट भएका ८१ प्रतिशतभन्दा बढी घटना फेसबुकमार्फत भएको उनले जानकारी दिइन्।

सुरक्षित इन्टरनेट दिवसका सन्दर्भमा भोइस अफ चिल्ड्रेन र आइबर्ट नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तक्रियामा प्रस्तुत तथ्यांकले नेपालमा अनलाइन दुर्व्यवहारमा बढीजसो बालिका परेको देखाएको छ।

‘साइबर अपराधमा कम्प्युटर, मोबाइललगायत अन्य विद्युतीय उपकरण र सञ्जाल दुरुपयोगबाट गरिने गैरकानुनी कार्य साइबर अपराध हो। अनधिकृत प्रवेश तथा प्रतिलिपि तथ्यांक मेटाउने वा फेरबदल गर्ने, सोर्स कोडमा क्षति पु¥याउने, गैरकानुनी प्रकाशन साइबर अपराधका उदाहरण हुन्,’ सवित्राले भनिन्।

उनले थपिन्, ‘हाल नेपालमा साइबर अपराधको प्रवृत्ति हेर्दा फिसिङ अर्थात् माछालाई चारोको लोभ देखाएर फसाएझैं फसाउने, इमेल असुरक्षा, ह्याकिङ डाटा, विद्युतीय माध्यमबाट ठगी, साइबर स्टकिङ, भोजपुरी गीतमा छाडा शब्दको प्रयोग, मोबाइल सेन्टरमा मोबाइल बनाउन दिँदा र शरीरमा ट्याटु खोप्दा साइबर अपराध भइरहेको देखिएको छ ।’ उनले हालको दुनियाँ नेटको भएकाले सुरक्षित प्रयोगबारे जानकारी हुनुपर्ने बताइन्।

‘विद्युतीय कारोबार ऐन २०६३ अनुसार अधिकतम दुई लाख रूपैयाँ जरिवाना र पाँच वर्षसम्म कैदको सजाय पनि सरकारले तोकेको छ। पीडितले उजुरी गरे कसुरअनुसारको सजाय दोषीले पाउँछ भन्ने थाहा पाउन जरुरी छ,’ उनले भनिन्।

भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले सन् २०२३ मा कोसी र बागमती प्रदेशका ५१४ बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालाबिच एक अध्ययन गरेको थियो। अध्ययनमा ५८ प्रतिशत बालबालिका, ३४ प्रतिशत परिवार, ७ प्रतिशत सरोकारवाला र १ प्रतिशत एलजिबिटिक्युआई समुदायको सहभागिता थियो। यो अध्ययनको निष्कर्ष अनुसार यौनजन्य कल र सन्देशबाट ३८.६ प्रतिशत बालिका र ३२.३ प्रतिशत बालक पीडित बनेको तथ्य उजागर भएके भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>