समाचार
घरआँगनमै घुम्ती सेवा

महोत्तरी, माघ २७-
“कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब ९कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए०” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भन्नुभयो, “आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल ९आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ० ।”
मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा हुनुहुन्छ ।
यसैगरी, सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिनुभयो । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ ।
मटिहानीमा जारी एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता छ । मटिहानी नगर कार्यपालिकाको कार्यालयका विभिन्न शाखा र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा समेटिएको यो शिविरमा तीन दिनमा तीन हजार दुई सय ९२ सेवाग्राहीले घरआँगनमै सेवा लिए । आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि अहिले मटिहानीवासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयले मटिहानी–१ धिरापुरबाट बुधबार सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरमा सर्वसाधारण आ–आफ्ना सरोकारका शाखाबाट सेवा लिइरहेका छन् ।
मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनोट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन, निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत् मिटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् । यस्तै घुम्ती सेवामा घरपालुवा पशुवस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधि वितरण, पशुपक्षी पालनसम्बन्धी परामर्श, राजस्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइँदै छ । यी सबै काम बस्तीमै आएर दिँदा आफुको कैयौँ दिनको दौडधुप र आवतजावतमा हुने खर्च बचेको नगरवासीले प्रतिक्रिया दिएका छन् ।
शिविरमा मटिहानी–३ की समिला खातुनले आफ्नै आँगनमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनुभयो । “कैयौँ दिनदेखि सोच्दै थिएँ, कार्यालय जाउँला ज्येष्ठ नागरिक परिचयपत्र बनाउन, घरगृहस्थीको कामले भ्याएकी थिइनँ, अहिले त घरमै टोली आएर कागज प्रमाण सबै दिए”, उहाँले भन्नुभयो, “घुम्ती सेवाले गरिबलाई निकै राहत भयो ।”
समिलाजस्तै सो वस्तीका रामभरोस मुखियाले पनि आफ्नै आँगनमा स्वास्थ्य बिमा गराउनुभयो । “कहीँ जान परेन, आफ्नै घरआँगन आइपुगेको घुम्ती टोलीले सबै काम गरिदियो”, उहाँले भन्नुभयो । मटिहानी–४ बरदाहाकी ७० वर्षीया सुरुजकलादेवीले गाईको उपचार गराउनुभयो । “गायके गोबर आ जरबुखार सब जचागेल, आ दबाइयो मिलल (गाईको गोबर र ज्वरो जाँच भयो, औषधि पनि पाएँ)”, उहाँले भन्नुभयो, “न ढेउवा लागल, न कहुँ जाएके परेसानी भेल (न पैसा लाग्यो, न कहीँ जाने परेसानी नै भयो) ।”
घरआँगनमै ज्येष्ठ नागरिक परिचयपत्र बनाएकी मटिहानी–४ कै ७० वर्षीया लक्ष्मीनियाँ देवीले यो परिचयपत्रबाट अरु धेरै सहुलियत पाउने बताउनुभयो । शिविरमा प्रवाह भइरहेका सेवाबारे जानकारी लिन मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि पुग्नुभयो । “सर्वसाधारणले सहजै सेवा पाएको देखियो, यो सेवाले आम जनतामा सरकार आफ्नो घरआँगनमा आएको अनुभूति दिएको छ,” मन्त्री तिवारी भन्नुहुन्छ, “यसले सकारात्मक सन्देश दिएको छ ।” रासस