अर्थ
अमेरिकी डलर बलियो बन्दा सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक

काठमाडौं,मंसिर १-
अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी महिना ब्याजदर बढाउने सम्भावना बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ ।
मंगलबार (नोभेम्बर १७) अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ८६९.१३ डलरमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य सन् २०२५ अक्टोबरयताकै न्यून विन्दुमा झरेको थियो । यद्यपि, डिसेम्बरमा डेलिभरी हुने अमेरिकी सुनको खरिद मूल्य भने ०.५ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८७२.१० डलर पुगेको छ ।
अमेरिकी डलर सूचकांक १९ महिनायताकै उच्च विन्दुमा पुगेपछि अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य निर्धारण हुने सुन महँगो भएको छ । यसले सुनको माग र मूल्यमा दबाब सिर्जना गरेको छ । बजारले आगामी डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने सम्भावना ९५.५ प्रतिशत देखेको छ । ब्याजदर ०.५० प्रतिशत विन्दुले बढ्ने सम्भावना भने ४.५ प्रतिशत अनुमान गरिएको छ । ब्याजदर बढ्दा प्रतिफल नदिने सुनमा लगानी गर्नुभन्दा ब्याजबाट आम्दानी हुने वित्तीय गतिविधिप्रति आकर्षण बढ्ने भएकाले सुनप्रतिको लगाव घट्ने गर्छ ।
लगानीकर्ताहरू अहिले फेडरल रिजर्भको अक्टोबर २७–२८ मा सम्पन्न बैठकको विवरण सार्वजनिक हुने प्रतीक्षामा छन् । बुधबार सार्वजनिक हुने उक्त विवरणले आगामी मौद्रिक नीतिबारे थप संकेत दिने अपेक्षा गरिएको छ । आर्थिक विश्लेषकहरूले समष्टिगत आर्थिक दबाब बढ्दै जाँदा सुनमा लगानीको माग कमजोर हुन सक्ने बताएका छन् ।
























