देश/प्रदेश
देउसीभैलोको रकम क्यान्सर पीडित तथा घाइतेलाई

बागलुङ,मङ्सिर १ –
जिल्लास्थित सुनौलो बागलुङ सामाजिक संस्थाले देउसीभैलो खेलेर सङ्कलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ ।
संस्थाले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख ५५ हजार रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित पाँच परिवारका सदस्यलाई प्रदान गरिएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले जानकारी दिनुभयो ।
उक्त संस्थाले सामाजिक सेवाको उद्देश्यसहित पाच वर्षदेखि निरन्तर देउसीभैलो कार्यक्रम गरी त्यसबाट सङ्कलित रकम परोपकार क्षेत्रमा खर्चंदै आएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले जैमिनी नगरपालिका–१ का क्यान्सरपीडित चन्द्रकला थापा र मनबहादुर सोनमलाई रु २०/२० हजार आर्थिक सहयोग गरिएको छ ।
बरेङ गाउँपालिका–१ की सवारी दुर्घटना प्रभावित कुमारी पुनलाई रु ३० हजार, जैमिनी नगरपालिका–३ पौडेलबारीका बोनम्यारो क्यान्सरपीडित टेकबहादुर विकलाई रु ३० हजार र सोही वडाका प्यारालाइसिस पीडित दिलबहादुर छन्त्याललाई रु २० हजार सहयोग गरिएको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिका–१० का सवारी दुर्घटनामा परी प्यारालाइसिसबाट प्रभावित एकै परिवारका कृष्णबहादुर घर्ती र धनकली घर्तीलाई रु ३५ हजार सहयोग गरिएको छ ।
अध्यक्ष प्रतेलले देउसीभैलोको रकम परोपरकारी क्षेत्रमा खर्च गर्दै आएको बताउदै हाल रु एक लाख रकम संस्थाको खातामा रहेकाले आर्थिक रुपमा दुःख तथा पीडामा परेकालाई खर्च गर्ने बताउनुभयो ।























