खेलकुद
भरतपुर मेयर्स कप क्रिकेटः लिग चरणको समूह विभाजन

चितवन, माघ २१–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको समूह विभाजन गरिएको छ ।
लिग चरणमा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह ‘ए’लाई ‘ग्रुप अफ देथ’को रुपमा हेरिएको छ । यस समूहमा पहिलो संस्करणको विजेता अर्किड स्कुल, उपविजेता वाल्मीकि शिक्षा सदन, नारायणी पब्लिक इङलिस स्कुल, चितवन मावि र हिमालय दण्डपानी मावि रहेका छन् ।
यस्तै समूह ‘बी’ मा पहिलो संस्करणको सेमीफाइनलमा पुग्न सफल सनराइज इङलिस स्कुल, अरोमा इङलिस स्कुल, प्रेरणा इङलिस बोर्डिङ स्कुल, नारायणी नमुना मावि र लक्ष्मी मावि लंकु रहेका छन् । लिग चरणका खेलहरु माघ २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा नकआउट छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेका हुन् । साविक विजेता, उपविजेता र सेमीफाइनलमा पुगेका अन्य दुई टिम गरी ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको थियो । तीन चरणको छनोट प्रतियोगितामा ४३ विद्यालयको सहभागिता थियो ।
लिग चरणमा समूह ‘ए’ र ‘बी’मा रहेका पाँच/पाँच टिमले एक अर्काविरुद्ध खेल्नेछन् । समूहका उत्कृष्ट दुई टिम सेमीफाइनलमा प्रवेश गर्ने छन् । लिग चरणका खेलहरु ३० ओभरको हुनेछ । सेतो जर्सी र रातो बलमा खेलाइने भएकाले लिग चरणका खेलहरु टेष्ट क्रिकेटको झल्को दिने आयोजकले जनाएको छ । यसले युवाहरुलाई लामो इनिङ खेल्न प्रोत्साहन मिल्नेछ ।
प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् ।