देश/प्रदेश
छाडापन नियमन गर्न सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, माघ १९-
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रलाई बलियो र प्रेस जगतलाई थप विश्वसनीय बनाउन सामाजिक सञ्जाल विधेयक ल्याइएको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको मूलभूत मान्यता, सिद्धान्त र नीतिमा टेकेर सामाजिक सञ्जाल विधेयक ल्याइएको स्पष्ट पारे ।
त्यसै गरी जनताको सूचनाको हकलाई कुण्ठित हुन नदिन तथा सूचनाको हकलाई कसरी प्रत्याभूत गर्न सकिन्छ भन्ने विषयलाई ध्यान दिएर यो विधेयक ल्याइएको मन्त्री गुरुङको भनाइ थियो ।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका मूलभूत सिद्धान्तलाई अझ प्रभावकारी बनाउन यो विधेयक ल्याइएको भन्दै उनले यो विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा ल्याइयो भन्ने कुरा झुटो रहेको जिकिर गरे ।
प्रिन्ट मिडिया र प्रोफेसनल मिडियाको एक खालको नियमन छँदै छ, उनीहरू मर्यादित ढङ्गले काम गरेको देखिन्छ तर अनलाइन मिडियालाई व्यवस्थापन गर्ने, नियमन गर्ने मुलुकमा कानुन छैन, त्यसैले यिनीहरूको नियमन गर्ने जरुरी रहेको उनले बताए ।
उनले लोकतन्त्र भनेको अराजकतन्त्र र मनपरीतन्त्र नरहेको तथा ‘फेक न्युज’ दिनु भनेको अभिव्यक्ति स्वतन्त्रता नरहेको स्पष्ट पारे । अभिव्यक्ति स्वतन्त्रताको पनि सिमाना र मर्यादा रहेको उनको भनाइ थियो ।“मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको मुद्दा तथा राष्ट्रिय एकतामा आँच आउने खालका ‘फेक न्युज’ ल्याउने काम भइरहेको छ, मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयत्न भइरहेको छ । यसले समाजलाई अराजक बनाउँदै गयो, त्यसकारण यसको नियमन जरुरी छ,” उनले भने, “हामीले नियमन मात्र गर्न खोजको हो, ‘कन्ट्रोल’ गर्न खोजेको होइन । व्यवस्थित गर्न मात्र खोजको हो, बन्द गर्न खोजिएको बुझ्नुभएन ।”

























