देश/प्रदेश

५२ जनाको सामूहिक कागतीखेती, डेढ करोड लगानी

Banner

बागलुङ, माघ ११-

बसाइँसराइका कारण रित्तिँदै गएको गाउँ बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन्। किसानले समूह बनाएर साढे २०० रोपनी जग्गा भाडामा लिएर कागतीखेती शुरु गरेका हुन्।

बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन्। २०७७ सालमा शुरु गरेको ‘चासो कृषक समूह’ले शुरु गरेको कागतीखेती फस्टाउन थालेको छ। कागतीखेती गर्न एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए। गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ। यो वर्ष करिब पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए।

कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ लाख अनुदान दिएको थियो। किसानले झण्डै एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिए। गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती शुरु गरेको उनले बताए।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन्। गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो। कागतीखेती गरेपछि बाँदरको आतंक केही कम भएको छ। बर्सेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ। यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए। २०७९ सालमा चक्लाबन्दीका लागि १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि पाँच लाख सहयोग गरेको उनले बताए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ। विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>