देश/प्रदेश
विराट एक्स्पो आजदेखि
०

मोरङ, माघ १२
कोशी प्रदेशको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो¬, २०२५ आज यहाँ सुरु हुँदैछ । उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा सो एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
यही माघ २० गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा विशेषगरी प्रदेशका उपभोक्ता, उत्पादक र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित भई औद्योगिक तथा कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसैगरी आयोजक पक्षबाट यस क्षेत्रको आर्थिक, सामजिक, सांस्कृतिक, शैक्षिक, कृषि, उद्योग, बैंकिङ तथा रोगगारीका क्षेत्रमा सकारात्मक प्रभावसहित आर्थिक गतिविधिलाई थप चलायमान बनाउन एक्स्पोले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालका अनुसार विराट एक्स्पोमा दुई सय ६८ वटा प्रदर्शनी कक्षसहित नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशबाट उत्पादित दैनिक उपभोग्य तथा प्रयोग गरिने वस्तु तथा सामग्री राखिने छन् ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खाद्य, उद्योग तथा बैंकसँग सम्बन्धित उपयोगी एवं उपभोग्य वस्तु तथा सेवा एवं सूचनामूलक सामग्री प्रदर्शनीमा राखिने बताउनुभयो । विसं २०५३ मा ‘कोशी महोत्सव’ का नाममा पहिलो एक्स्पो आयोजना गरेको सो उद्योग सङ्गठनले हरेक दुई वर्षमा यस किसिमको एक्स्पो आयोजना गर्दै आएको छ ।
उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं सूचना अधिकारी नन्दकिशोर राठीले एक्स्पोको तयारीमा करिब रु तीन करोड खर्च भएको जानकारी दिँदै स्वदेश तथा विदेशकासमेत गरी दुई लाख ५० हजार दर्शकले कोशी एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
युवालाई विदेश पलायनमा रोक्न सहयोग पु¥याउने उद्देश्यले नौ दिनसम्म चल्ने सो एक्स्पोमा पानी तान्ने मोटरको मर्मतसम्भार, कपी उद्योग सञ्चालनलगायतका सीपमूलक तालिमको व्यवस्थासमेत गरेको आयोजकले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















