चितवन विशेष
माघे संक्रान्ती मेलामा देवघाट पुगेका दर्शनार्थीलाई नारायणगढ जेसीजले खुवायो प्रसाद

चितवन, माघ १–
भर्खर मात्रै नयाँ नेतृत्व चयन गरेको नारायणगढ जेसीज र नारायणगढ लेडी जेसीजले आज देवघाटमा पुगेका दर्शनार्थीलाई चिया तथा प्रसाद वितरण गरेको छ ।
माघे संक्रान्तिको दिन आज देवघाटमा विभिन्न ठाउँबाट दर्शन गर्न पुगेका दर्शनार्थीहरुलाई विहानीदेखि चिया र प्रसाद वितरण गरिएको नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।
दर्शनार्थीहरु हिजो साँझदेखि नै देवघाट पुगेका थिए । साँझ पुग्न नसकेका दर्शनार्थीहरुको विहानै घुइचो लागेको थियो । नारायणगढ लेडी जेसिजकी अध्यक्ष एलिना श्रेष्ठले संस्थाको नेतृत्व गरेको पहिलो कार्यक्रम नै मानव सेवा समर्पित रहेर गरिएको बताइन् । उनले आगामि दिनमा अझै सबै किसिमका कार्यक्रमहरुलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने बताइन् । सो कार्यमा स्वस्तिक नेपालले सहकार्य गरेको थियो ।

यस्तै दर्शनार्थीकै लागि किराना व्यवसायी संघ चितवनले पनि चिया वितरण गरेको छ । विहानी समयमा बढी चिसो भएकाले निःशुल्क चिया वितरण गरिएको संघले जनाएको छ । यस्तै माघे संक्रान्ति मेलामै दृष्टि नेपालले जेष्ठ नागरिक आवासीय भवन निर्माणर्थ सहयोग एवं पितृ मोक्ष महाअभियानका लागि दान पेटिका राखेको छ । देवघाट पुगेर दान गर्न चाहनेले महत्वपूर्ण काममा सरिक भइदिन दृष्टि नेपालले आग्रह गरेको छ ।


























