राजनीति

दश प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह

Banner

भक्तपुर, पुस २२-

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्ने बताउनुभएको छ ।

ह्याम्स अस्पतालले व्यवस्थापन सम्हालेको भक्तपुरस्थित नागरिक अस्पतालको अत्याधुनिक उपकरणयुक्त लेभल–३ आइसियु कक्षको आज उद्घाटन गर्दै उहाँले निजी अस्पतालले गरिब र भुइँ तहका मान्छेलाई सरकारी नीति अनुसार १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजी स्वास्थ्य संस्था सेवामुखी व्यापार हो, सरकारको नीति र मापदण्डलाई पालना गरिदिनुस्, पारदर्शी रुपमा १० प्रतिशत निःशुल्क बेड भर्ना लिनुस् । यो अस्पताल भुइँमान्छेको पनि अस्पताल हो भन्ने अनुभूति दिलाइदिनुस् ।”

स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पु(याएर कार्यान्वयनको तयारी भइरहेको बताउँदै उहाँले विकसित मुलुकमाझैँ प्रत्येक नागरिकको योगदानलाई सुनिश्चित गर्नेगरी नागरिक योगदानमा आधारित बिमा प्रणाली लागू गर्न सके निःशुल्क सेवा दिन सकिने बताउनुभयो ।

“स्वास्थ्य बिमामा सरकारको बजेट सात अर्ब छ, अहिलेकै अवस्थामा ४९ अर्ब बजेट व्यवस्था गरेपनि नपुग्ने देखिन्छ, यस्तै अवस्था रहे अर्को साल स्वास्थ्य बिमा सेवा नै बन्द हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “हामी बिमा प्रणाली व्यवस्थित गरेर स्वास्थ्यको पुनःसंरचना गर्न लागि रहेका छौँ ।”

कार्यक्रममा ह्याम्स अस्पताल तथा नागरिक अस्पताल अध्यक्ष रामशरण भण्डारीले निजी क्षेत्रका अस्पतालहरुको सरकारले ग्रेडिङ गरेर शुल्क निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले निजी अस्पतालले सरकारको नीतिअनुसार चल्नुपर्छ भनेर ‘आइपीओ’मा गएको बताउँदै सबैमा यो नीति लागू हुनुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरियामैत्री अस्पतालले मात्रै बिरामी थेग्न नसकेको अवस्थामा नागरिक अस्पतालले सेवा दिने बताउँदै भक्तपुरमा अत्याधुनिक अस्पताल सञ्चालनमा आउँदा उपचारका लागि काठमाडौँका अस्पतालको भर पर्नु नपर्ने बताउनुभयो ।

कार्यक्रममा आइसियु विशेषज्ञ डा अर्जुन कार्कीले आइसियुमा उच्चस्तरीय प्रविधि, उपकरण, विज्ञ, दक्ष नर्स र औषधिको उपचार गर्ने र धेरै बिरामी निको पारेर पठाउने सकिने बताउनुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा कुन्दनसिंह कार्कीले अस्पताललाई अत्याधुनिक उपकरणयुक्त बनाउँदै उपचार सेवा र उपकरण दुवैमा भक्तपुरको उत्कृष्ट अस्पताल बनाउने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>