राजनीति
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछुः सभापति थापा

काठमाडौं , असोज ३१ –
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।
सभापतिको शपथग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको नेतृत्वमा रहँदा जादु वा चमत्कार गर्ने दाबी नगर्ने, बरु इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
‘म जादु गर्छु, चमत्कार गर्छु भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु । बेइमानी नगरीकन, नचुकीकन आफ्नो कर्म गर्छु,’ उनले भने ।
थापाले आफ्नो पहिलो प्रतिबद्धता लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायप्रति रहेको स्पष्ट पारे । आगामी दिनमा नेपाली कांग्रेसले सरकार, सत्ता र राजनीतिक सहकार्यभन्दा लोकतन्त्र, नागरिकको सम्मान तथा सामाजिक न्यायलाई प्राथमिकता दिने उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसको आगामी यात्रा लोकतन्त्र, गरिमा र सामाजिक न्यायका आधारमा अघि बढ्नेछ । कुनै पनि दल, संस्था, सरकार वा शक्तिसँग सहकार्य गर्ने अथवा संघर्ष गर्ने भन्ने कुरा यी मूल्यप्रतिको प्रतिबद्धताले निर्धारण गर्नेछ,’ थापाले भने ।
सभापति थापाले पार्टीको सफलता निर्वाचनमा प्राप्त हुने जित, आयोजना गरिने सभा वा जुलुसको संख्याले मात्र मापन नहुने बताए । नागरिकले कांग्रेसलाई कति विश्वास गर्छन् भन्ने विषय पार्टीको सफलताको मुख्य आधार हुने उनको भनाइ थियो ।
उनले कांग्रेसलाई नागरिकका समस्या र अप्ठ्यारामा भरोसा गर्न सकिने पार्टी बनाउने प्रतिबद्धता जनाए । पार्टीका आन्तरिक गतिविधिमा केन्द्रित हुने समय र ऊर्जा घटाएर नागरिकका मुद्दामा बढी ध्यान दिनुपर्ने उनले बताए ।
थापाले कांग्रेसलाई वर्तमान समयको वैचारिक नेतृत्व गर्ने पार्टीका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे । नेपालको राजनीतिलाई लोकप्रियतावादबाट लोकतन्त्र र देखावटी गतिविधिमा केन्द्रित राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजान आवश्यक रहेको उनको भनाइ थियो ।
अर्थतन्त्रको न्यून वृद्धि, स्रोत परिचालनका चुनौती र समाजमा कायम विभेदका विषयमा गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता विषयको समाधान खोज्ने नेतृत्व कांग्रेसले लिनुपर्ने बताए।
कांग्रेसलाई पार्टी कार्यालय र आन्तरिक बैठकमा मात्र सीमित नराखी नागरिक, युवा, किसान तथा समुदायका बीचमा पुर्याउनुपर्ने उनले बताए ।
‘नेपाली कांग्रेसको तागत पार्टीका बन्द कोठाहरूबाट आउँदैन, कांग्रेसको तागत आम नागरिकहरूको विश्वासबाट आउँछ,’ उनले भने ।
उनले पार्टीका प्रत्येक सदस्यलाई कुनै न कुनै सामाजिक आन्दोलनसँग जोड्दै कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाए ।























