Breaking News
नेपालद्धारा ओमानसामु २८१ रनको लक्ष्य पेश, देव, रोहित र दीपेन्द्रले बनाए अर्धशतक

चितवन, कार्तिक २–
ओमानमा जारी आइसीसी विश्वकप लिग टु अन्तरगतको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई जितका लागि २८१ रनको लक्ष्य पेश गरेको छ ।
देव खनाल, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको महत्वपूर्ण अर्धशतकीय पारीमा नेपालले ओमानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । नेपाल अन्तिम बलमा ठूलो सट प्रहार गर्ने क्रममा २८० रनमा अलआउट भयो ।
ओपनर खनालले ६५ बलमा ५७, रोहितले ८१ बलमा ८० रन बनाए भने दीपेन्द्रले ६२ बलमा ६९ रनको पारी खेले । बसिर अहमदले अन्त्य तिर छोटो तर महत्वपूर्ण पारी खेले । उनले अन्तिम ओभरमा लगातार एक छक्का र २ चौका प्रहार गरे । छक्का प्रहार गर्न खोज्दा चौथो बलमा उनी बाउन्ड्री लाइनमा क्याचआउट हुनुअघि ७ बलमा १७ रन बनाए । सन्दीप लामिछाने र नन्दन यादव शून्यमै आउट भए । आशिफ शेख ७ र गुल्शन झा ५ रनमा आउट भए । करण केसी ९ रनमा हिटविकेटको रुपमा आफ्नो विकेट गुमाएका थिए ।
खेलमा ओमानका फैसल शाहले एकदिवसीय क्रिकेटमा पहिलोपटक ५ विकेट लिन सफल भए ।
नेपाल आजको खेलमा जित्नै पर्ने दवाब छ । आजको खेलमा विजयी भए नेपाल लिग टुमा छैटौं स्थानमा रहँदै यात्रा टुंग्याउने छ । त्यसो भएमा नेपालको एकदिवसीय मान्यता जोगिने छ । पराजित भएको खण्डमा एकदिवसीय मान्यता गुम्ने छ भने एकदिवसीय मान्यता पाउन अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।






















